सात बुँदे अनुसार समायोजनको माग

  • 1 जुलाई 2011
माओवादी नेताहरु
Image caption आफ्ना वरिष्ठ सहयोगीहरुसहित प्रचण्डले प्रधानमन्त्रीसंग वार्ता गरेका थिए

आन्तरिक विवादमा फसेको एकीकृत नेकपा माओवादीको नेतृत्व पंक्तिले प्रधानमन्त्री झलनाथ खनाललाई सामूहिक रुपमा भेटेर सेना समायोजन सात बुँदे सहमति अनुसार हुनु पर्ने अडान राखेको छ।

प्रधानमन्त्री चुनावको दिन खनाल र अध्यक्ष प्रचण्डबीच भएको सात बुँदे सहमतिमा माओवादी लडाकुको नेतृत्वमा अलग फौज बनाउने कुरा समेत एउटा बुँदामा उल्लेख छ।

वरिष्ठ नेताहरुकै चरम असहयोग भोगीरहेका प्रचण्ड पार्टीका सबैजसो पदाधिकारीलाई लिएर शुक्रबार दुई पटक प्रधानमन्त्री निवास पुगेका थिए।

आग्रह

छलफलको दोश्रो खण्डमा अहिले अवरुद्ध हुन पुगेको समायोजन प्रकृयाबारे कुरा भएको थियो।

प्रचण्डका विश्वास पात्र नेता हरिबोल गजुरेलले भने, "सरकार गठनको आधार सात बुँदे अनुसार समायोजन गर्ने कुराबारे सरकारको धारणा प्रष्ट पार्न आग्रह गरेका छौं।"

माओवादीले नेपाली सेना अन्तर्गत आफ्ना लडाकुको समायोजन गर्ने निर्णय गरिसकेको छ।

उक्त निर्णय सात बुँदे सहमति विपरित भएको भन्दै उपाध्यक्ष किरण पक्षले लिखित असहमति जनाएको थियो।

चेतावनी

सात बुँदेबारे प्रधानमन्त्रीको धारणा माग्नुलाई पुरानो निर्णयबाट पछि हटेको अर्थ लगाउन नमिल्ने नेता गजुरेलले बताए।

चेतावनीको शैलीमा उनले भने, "नेपाली सेना अन्तर्गत महानिर्देशनालय गठन गर्ने तर नेतृत्व माओवादीलाई दिएर समुहगत समायोजन नगर्ने हो भने त कुरा मिल्दैन नि।"

तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्यो सहमति अनुसार हुने बताए।

उनले भने, "माओवादी विद्रोही मात्र नभइ सत्ताको मुख्य पक्ष भएकाले सहमति जुटाउने दायित्व पनि उसको हो। ती सबै दलहरुबीच सहमति अनुसार हुने कुरा हो।"

माओवादी आन्तरिक विवादमा फसेपछि कार्यतालिका बनाएर अगाडि बढ्ने निर्णय गरिसकेको सेना समायोजन विशेष समितिको बैठक नै बस्न सकेको छैन।