भागबन्डा नमिल्दा विश्वविद्यालय पदाधिकारी विहिन

  • 9 जुलाई 2011
तस्वीर कपीराइट BBC World Service
Image caption कुलपति प्रधानमन्त्री त्रि विको वार्षिकोत्सवमा उपस्थित हुन भ्याएनन्

दलीय झगडाका कारण त्रिभुवन विश्वविद्यालय संस्कृत विश्वविद्यालय पूर्वान्चल विश्वविद्यालय लगायतमा उपकुलपतिहरु नियुक्त हुन नसकेको शिक्षा मन्त्री गंगालाल तुलाधरले बताएका छन्।

ति विश्वविद्यालयहरुमा दुइ महिनादेखि उपकुलपति लगायतका उच्च पदहरु खाली छन्।

उपकुलपति नभएकैले हरेक वर्ष लाखौं विद्यार्थीलाई उच्च शिक्षा दिँदै आएको नेपालको सबभन्दा पुरानो, सबभन्दा ठूलो र सर्वसाधारणको पहुँचमा रहेको त्रिभुवन विश्वविद्यालयले उसको आधा शताब्दी भन्दा लामो इतिहासमा संभवत पहिलोपटक सर्वोच्च कार्यकारी अभिभावक उपकुलपति बिना शनिबार वार्षिकोत्सव मनाएको छ।

पहुँच

सात सालको जहानिया राणा शासन हटेपछि सर्वसाधारणलाई उच्च शिक्षामा पहुँचका लागि २०१६ साल असारमा स्थापना गरिएको त्रिभुवन विश्वविद्यालयको वार्षिकोत्सव विशेष हुने गर्थ्यो सँधैभरी।

राजा त्रिभुवनले स्थापना गरेको विश्वविद्यालयमा केहि वर्ष अघिसम्म पनि वार्षिकोत्सव समारोहका लागि किर्तिपुरमा राजा नै जान्थे।

२०६२/०६३ सालको जनआन्दोलन पछि राजा जाने क्रम टुट्यो।

यसपटक वार्षिकोत्सब मनाउन कुलपति प्रधानमन्त्री झलनाथ खनाल समेत किर्तिपुर जान भ्याएनन्।

दुखी

कुलपति उपकुलपति नभएकाले सहकुलपति शनिबारको कार्यक्रमको प्रमुख अतिथि बनाइएका शिक्षामन्त्री गंगालाल तुलाधरलाई नै दुखी बनाएको छ।

उनी भन्छन्, “यस्तै होला भनेर उपकुलपति नियुक्त गर्न धेरै प्रयास गरेँ सकिन, आज एक्लै उत्सव मनाउँदा मलाई रमाइलो लागेन।”

देश विकासका लागि मेरुदण्ड मानिने उच्च शिक्षामाथि प्राय सबै मुलुकमा विशेष ध्यान दिइन्छ।

तर नेपालको पुरानो सर्वोच्च उच्च शिक्षा दिने निकायमा दुइ महिना भन्दा बढि समयदेखि उपकुलपति नियुक्त हुन सकेका छैनन्।

शिक्षामन्त्रीले छिटै उपकुलपति नियुक्त गरिने जनाए पनि उनी आफै भन्छन्, “सबै दलका ठूल्ठूला नेताहरुसँग बारम्बार कुराकानी गरेँ उहाँहरु त ठूल्ठूला नियुक्तिमा अल्झिनु भएको छ विश्वविद्यालयहरुको कसैलाई चिन्तै छैन।”

धुजा धुजा

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा भागबण्डाकै कारण विश्वविद्यालय धुजा धुजा भइसकेको छ भन्छन्।

पार्टी सम्बद्ध व्यक्तिलाई उपकुलपति बनाएर तपाइहरुलाई के फाइदा भएको छ? भन्ने प्रश्नको जवाफमा शिक्षामन्त्री भन्छन्, “न पार्टीलाई न विश्वविद्यालयलाई फाइदा भएको छ। अघिल्लो कार्यकालमा एमालेका उपकुलपति कांग्रेसका रेक्टर र माओवादीका रजिष्ट्रार हुँदा तीनतिर मुख फर्केकाले असाध्यै भयावय स्थिति रह्यो चार वर्षसम्म।”

त्रिवि मात्र होइन पूर्वान्चल संस्कृत विश्वविद्यालय लगायतमा उपकुलपति नियुक्त हुन सकेका छैनन्।

देशका सार्वजनिक विश्वविद्यालयहरु राजनीतिक दलहरुको बाँडी खाने धन्दा बन्न पुगेकोमा शिक्षाविदहरुले चिन्ता जनाएका छन्।

उनीहरु भन्छन्, “भागबण्डाले उच्चशिक्षालाई पतनको बाटोमा डोहोर्‍याएको छ जसले अन्तत देशकै भविष्यलाई अन्धकारमा धकेलिदिनेछ।”