शान्ति र संविधान पछि कार्यविभाजन गर्ने प्रचण्डको प्रस्ताव

  • 17 जुलाई 2011
maoists party office
Image caption भदौ १४ अगाडि नै संविधानको मस्यौदा ल्याउने माओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव छ

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधानलाई माओवादीले पहिलो प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरेका छन्।

संकटको दलदलमा फसेको आफ्नो पार्टीमा देखिएका गंभीर मतभेदहरु सम्हाल्ने कोशिशमा केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दै प्रचण्डले शान्ति र संविधानलाई प्राथमिकतामा राखेको माओवादी नेताहरुले जनाएका छन्।

उनको विरुद्ध मोर्चाबन्दी गर्दै कार्यविभाजनको मुद्दालाई जोडतोडले उठाइरहेका माओवादी नेताहरुले भने प्याकेजमै सहमति गरिनुपर्ने अडान राखेका छन्।

आपसी कुरा मिल्नुको सट्टा विग्रँदै गएपछि झण्डै एक महिनादेखि पर सर्दै आएको केन्द्रीय समितिको बैठक बल्ल तल्ल आइतबार बसेको थियो।

निर्णय

प्रतिवेदनमा सोमबारदेखि छलफल गर्ने एकमात्र निर्णय गरेर पन्ध्र मिनेटमै बैठक टुंगिएको थियो।

माओवादी प्रवक्ता दिननाथ शर्मा भन्छन्, “जुन आधारमा विवाद बढेको त्यहि उचाइमा समाधान गर्ने गरी प्रस्ताव आएको छ।”

लडाकुको पुनवर्गिकरण, महानिर्देशनालय, पुनस्थापना लगायतका विषयहरु तथा पार्टीको अन्तरसंघर्ष समाप्त पार्ने विधि समेत छोटकरीमा समेटीएको प्रतिवेदनमा भदौ १४ अगाडि नै लडाकुको व्यवस्थापन खाका टुंग्याउने र संविधानको मस्यौदा तयार पार्ने कामलाई पहिलो प्राथमिकता दिनुपर्ने भनिएको बताइएको छ।

टसमस

केन्द्रीय समितिमा मतभेद सुल्झाउने प्रचण्डको कोशिस रहेको बताइए पनि त्यस अघि बसेको पदाधिकारी बैठकमा उनीसँग असहमत नेताहरु आफ्ना अडानबाट टसमस भएका थिएनन्।

प्रचण्डलाई चुनौति दिंदै आएका एकजना उपाध्यक्ष बाबुराम भट्टराई निकटका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेल भन्छन्, “शान्ति र संविधान सम्बन्धी कार्ययोजना र कार्यविभाजन एक आपसमा अन्योन्याश्रित छन् त्यसैले प्याकेजमै सहमति हुनुपर्छ भन्ने पदाधिकारी बैठकमा उठेको थियो।”

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, माओवादीभित्रको मतभेद यथावत रहँदा शान्ति र संविधानका मुद्दाहरु ओझेलमा पर्ने क्रम जारी रहने देखिन्छ।