माग नसमेटिए मोर्चाले बजेट पेश हुन नदिने

  • 10 जुलाई 2011
rajendra mahato
Image caption माग संबोधन नगरे बजेट ल्याउन अवरोध गर्नेछौं

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारलाई बजेट प्रस्तुतिमा कुनै अवरोध नगर्ने जनाएकाले सहज महसुस गरेको सरकारलाई तराइ केन्द्रित दलहरुले बजेटको पूर्व सन्ध्यामा चेतावनी दिएका छन्।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना मागहरु संबोधन नभए बजेट प्रस्तुत हुन नदिने चेतावनी दिएपछि सरकारका सामु अर्को खडको आइलागेको छ।

अर्थमन्त्री भरतमोहन अधिकारीलाई आफ्ना मागहरु सहितको ज्ञापन पत्र बुझाएको तराइ केन्द्रित दलहरुको गठबन्धन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना माग नसमेटिए अवरोध गर्ने जनाएको हो।

अमान्य

मधेशी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, “हाम्रा माग संबोधन नगरे हामी अवरोध गर्छौं। हामीलाई संसदबाट बाहिर निकालेर सरकारले बजेट पारित गर्न सक्छ, तर त्यो हामीलाई मान्य हुँदैन।”

पूर्व पश्चिम रेलमार्ग मध्य तराइ हुँदै बनाइनुपर्ने, मधेश आन्दोलनका शहीदहरुको नाममा विद्यालय खोल्नुपर्ने, मधेश आन्दोलनको घाइतेहरुको खर्च सरकारले बेहोर्नुपर्ने, किसानहरुको एक लाख रुपैयासम्मको ऋण मिनाहा गर्नुपर्ने, उनीहरुका लागि सहुलियत दलमा मल बीउ उपलब्ध गराइनुपर्ने लगायतका माग मोर्चाले राखेको छ।

प्रधानमन्त्रीका सल्लाहकार प्रकाश ज्वाला कांग्रेस लगायत तराइ केन्द्रित दलहरुका माग संबोधन गरेरै बजेट ल्याइने भएकाले अवरोध नहुने बताउँछन्।

उनी भन्छन्, “प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मधेश केन्द्रित दलहरु र अरु दलहरुसँग समेत कुराकानी र सहमति गरेरै बजेट ल्याउने तयारी सरकारको छ विरोध क़गर्नुपर्ने अवस्था आउनेछैन।”

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, करीब सत्तरी जना सभासद रहेको मोर्चाका माग संबोधन नगरे सरकारले बजेट प्रस्तुत गर्न या पारित गराउन बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने आशंका धेरैको छ।