कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

  • 24 जुलाई 2011
nepali congress
Image caption राष्ट्रिय सहमतिको सरकारको वातावरण बनाउन प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

संविधानसभाको थपिएको तीन महिने म्यादको एकमहिना मात्र बाँकी रहँदा प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेको छ।

म्याद थपिएको दुई महिनामा देशका समस्या समाधान गर्ने दिशामा एक इन्च पनि प्रगति नभएको भन्दै कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बन्ने वातावरण बनाउन प्रधानमन्त्रीको राजीनामा अनिवार्य भएको बताएको छ।

कांग्रेसले संसदमा प्रधानमन्त्रीको राजीनामा मागेकै दिन प्रमुख सत्तारुढ दल एकीकृत माओवादीले भने उसका तर्फबाट झलनाथ खनाल सरकारमा रहेका मन्त्री हेरफेर गरी नयाँ नेतृत्व र टिमको घोषणा गरेको छ।

आइतबार बिहान कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीको तत्काल राजीनामा माग्ने निर्णय गरेको थियो।

संसदको बैठकमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पाँच बुँदेको पूर्ण कार्यान्वयन गर्न प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका थिए।

औचित्य

संविधानसभाको म्याद एक महिना जति बाँकी रहँदा राजीनामा माग्नुको औचित्यबारे संसदीय दलका प्रवक्ता नवीन्द्र राज जोशीले भने, "प्रधानमन्त्रीको राजीनामा भन्दा शान्ति र संविधान महत्वपूर्ण भनेर त्यतातिर लाग्यौं, तर त्यो त एक इन्च पनि अगाडि बढेन, त्यसैले राष्ट्रिय सहमतिको सरकारको वातावरण बनाउन प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने हाम्रो माग हो।"

“प्रधानमन्त्रीलाई शान्ति प्रक्रियामा दबाब दिन मात्र राजीनामा मागिएको हो या प्रधानमन्त्रीले राजीनामा दिएपछि कांग्रेससँग सरकारको वैकल्पिक योजना छ?” भन्ने प्रश्नको जवाफमा जोशीले सबै मिलेर जानुको विकल्प नरहेको बताए।

जोशीका अनुसार तत्काल राजीनामा नदिए कांग्रेसले देशव्यापी कार्यक्रम ल्याउने छ।

हेरफेर

नेपाली कांग्रेसले प्रधानमन्त्रीले राजीनामा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएकै दिन आइतबार प्रमुख सत्तारुढ घटक एकीकृत माओवादीले भने झलनाथ खनाल सरकारमा आफ्नो टिम परिवर्तन गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १२ मन्त्री र १२ राज्यमन्त्रीको नाम सिफारिश गरेको छ।

सत्ताको नेतृत्व गरेको एमालेले धुलिखेलमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला पनि पाँच बुँदे कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गर्ने लगायतका घोषणा गर्दै आइतबार सम्पन्न भएको छ।