थप अनिश्चयको भूमरीमा राजनीति

  • 27 जुलाई 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption प्रधानमन्त्री खनालले राजीनामा दिंदैमापनि संकट समाधान हुने छनक देखिएको छैन

गठबन्धन सरकारमा मन्त्रीहरुको एउटा नयाँ ठूलो टोली पठाउने मुख्य सत्ताधारी घटक माओवादीको निर्णयले प्रधानमन्त्रीको अप्ठेरो बढाइदिएको छ।

गठन भएदेखिनै आलोचकहरुले दिनगन्ती शुरु गरेको प्रधानमन्त्री झलनाथ खनालको पाँच महिना पुरानो सरकारको आयूका बारे अहिले समर्थकहरुबाट समेत गंभीर प्रश्न उठेको छ।

गठबन्धन सरकारको मेरुदण्डका रुपमा रहेको एकीकृत माओवादीले प्रधानमन्त्रीको ईच्छा विपरीत मन्त्रिमण्डलमा ठूलो आकारको नयाँ टोली पठाउने निर्णय गरेपछि यस्तो प्रश्न उठेको हो।

प्रधानमन्त्रीले माओवादीको निर्णय माने पनि नमाने पनि राष्ट्रिय राजनीति सोझो बाटोबाट अगाडि बढ्ने संभावना लगभग अन्त्य भएको आशंका बढेको छ।

धक्का

प्रधानमन्त्रीमा नियुक्त हुन माओवादीको निर्णायक समर्थनका लागि झलनाथ खनालले गरेको ७ बुँदे सहमति अन्तर्गत सरकारको नेतृत्त्व आलोपालो गर्न सहमति भएको बताइएको थियो।

त्यस्तै संविधान सभाको म्याद बढाउन मुख्य प्रतिपक्षी नेपाली काँग्रेस लगायतसंग दुई महिना अघि पाँचबुँदे सहमति भएको थियो।

ती दुवै सहमतिका आधारमा अहिलेको सरकारको आयू सकिनै लागेको भनी सत्ताधारी दलका नेताहरुलेनै बताएका बेला प्रधानमन्त्री खनालका लागि पछिल्लो घटना एउटा गंभीर धक्का भएको कुरामा शंका छैन।

आफ्नो घरझगडा मिलाउन माओवादीले मन्त्रीहरुको नयाँ विशाल टोली पठाउन गरेको निर्णयको अवज्ञा गर्नुको अर्थ प्रधानमन्त्रीले माओवादीको निर्णायक समर्थन गुमाउनु हुनेछ।

माओवादीको निर्णय मान्नुको अर्थ मुख्य विपक्षी नेपाली काँग्रेस सहित मधेशी मोर्चाका दलहरु र आफ्नै दलको पनि ठूलो हिस्सालाई चिढाउनु हुनेछ।

बजेट पारित गर्नुपर्ने संसदको अधिवेशन चालु रहेको र संविधान सभाको आयू विपक्षी दलहरुले राखेको कडा शर्तसहित बढाइएको तीन महिना सकिनै लागेको छ।

त्यसैले प्रधानमन्त्री खनाल न त मुख्य सत्ताधारी माओवादीबाट टाढिन सक्छन न त विपक्षीहरुलाई चिढाउन।

उसै त माओवादीको बैसाखीमा अडेका उनी कहिलेपनि कुनै ठोस निर्णय गर्न सक्ने स्थितिमा थिएनन्।

अब त उनी अनिर्णयको बन्दी बनेर रहन पनि नसक्ने भएका छन्।

मार्गचित्र

तर सन्निकट ठानिएको उनको वहिर्गमनले पनि राजनीतिक अनिश्चय र अन्यौलको निकासको बाटो खोल्ने आधारहरु देखिएका छैनन्।

सत्ताको दाउपेचमा कहिले कोही माथि कहिले कोही तल हुन सक्लान् तर कुनै पनि दलले राजनीतिको भावी मार्गचित्र स्पष्ट कोर्न सकेका छैनन्।

त्यसैले जटिल हुँदै गएको अहिलेको राजनीतिक संक्रमणको गन्तव्य झन अनिश्चित र अस्पष्ट हुँदै गएको ठानिएको छ।