सपथ ग्रहण नगराए ‘गम्भीर’ निर्णय लिने माओवादीको चेतावनी

  • 29 जुलाई 2011
माओवादी नेताहरु
Image caption शनिबारसम्म सपथ ग्रहण नभए स्थायी समितिले 'बोल्ड' निर्णय गर्ने बताइएको छ

आफूले प्रस्ताव गरेका मन्त्रीहरुलाई शनिबारसम्ममा पनि मन्त्रिमण्डलमा सामेल नगराए प्रधानमन्त्री झलनाथ खनालका विरुद्ध गम्भीर निर्णय लिइने चेतावनी एकीकृत नेकपा माओवादीले दिएको छ।

प्रस्तावित मन्त्रीहरुलाई शुक्रबार साँझसम्म सपथ ग्रहण गराउन माओवादीले प्रधानमन्त्रीमाथि तिब्र दबाब दिएको थियो।

तर त्यसो नभएपछि उस्ले शनिबार दिउसोका लागि स्थायी समितिको वैठक बोलाएको छ।

आफ्नो दलले प्रस्ताव गरेका मन्त्रीहरुलाई प्रधानमन्त्री झलनाथ खनालले सपथ ग्रहण नगराएपछि शनिबार साँझ एकीकृत माओवादीका नेताहरु पदाधिकारी वैठकमा भेला भएका थिए।

‘उल्लंघन’

त्यहाँ सहभागी सचिव सीपी गजुरेलका अनुसार वैठकले प्रधानमन्त्रीले माओवादीको अनुरोध नमानेर गठबन्धन सरकारले पालना गर्नु पर्ने नियम उल्लंघन गरेको ठहर गरेको छ।

उनले भने, “उहाँसंग हाम्रो सहमति भएकै हो तर त्यस अनुसार काम नभएबाट प्रधामन्त्रीबाट गठबन्धन सरकारको नियम उल्लंघन भएको छ।”

माओवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएपछि शु्रुमा २४ जना मन्त्रीहरु पठाउने प्रस्ताव गरेको थियो।

तर विपक्षीबाट त्यस्को आलोचना भएपछि उस्ले त्यो संख्या घटाएर १२मा झारेको थियो।

तर मन्त्रिपरिषदमा कुनै हेरफेर नगर्न प्रधामन्त्रीलाई उनकै दल भित्रबाट दबाब बढेपछि माओवादीको चाहनामा तुषारापात भएको हो।

दबाब

माओवादी सचिव सीपी गजुरेलका अनुसार भोली दिउसो सम्ममा पनि आफ्ना प्रस्तावित मन्त्रिहरुलाई सपथ ग्रहण गराउने वातावरण नबने दलको स्थायी समितिले त्यसबारे गम्भीर छलफल गर्नेछ।

“यदि शनिबार विहानसम्म पनि सपथ ग्रहण भएन भने हाम्रो स्थायी समितिले गम्भीर निर्णय गर्नेछ।”

माओवादीले केहीदिन अघि मन्त्रिमण्डल हेरफेरको प्रस्ताव गर्ने वितिक्कै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यस्को चर्को विरोध गर्दै प्रधानमन्त्रीले राजिनामा गर्नु पर्ने माँग गरिरहेको छ।

संसदको वैठक समेत चल्न नदिएको कांग्रेसले जेठ १४ गते मध्यराती भएको पाँच बुँदे सहमतिको पालना हुनु पर्ने माग दोहोराइरहेको छ।