माओवादी मन्त्रीहरुको शपथ ग्रहण अझै अनिश्चित

  • 31 जुलाई 2011
प्रधानमन्त्री खनाल (दायाँ) र प्रचण्ड तस्वीर कपीराइट BBC World Service
Image caption प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनालले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका थिए

सरकारको सबभन्दा ठूलो घटक एकिकृत माओवादीले आफ्ना मन्त्रीहरुको नयां टोली सिफारिश गरेको झण्डै एकसाता बित्दा पनि उनीहरुको शपथ ग्रहण अनिश्चित नै छ।

प्रधानमन्त्री झलनाथ खनालले शपथ ग्रहणको वातावरण बनीनसकेको संकेत गर्दै उपयुक्त वातावरण निर्माण गर्न माओवादीलाई आग्रह गरेका छन्।

शपथ ग्रहणका लागि माओवादीले प्रधानमन्त्रीलाई दिइरहेको चेतावनी प्रतिको प्रतिक्रिया वा परिणाम बारेका कौतुहलका माझ आइतबार माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री झलनाथ खनालले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका थिए।

पार्टी मुख्यालयमा पत्रकारहरुसंग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले शपथ ग्रहणपछि शान्ति प्रकृया अघि बढ्न सक्ने कुराहरुको फेहरिस्त पनि प्रस्तुत गरे।

उनले भने-“भदौ १४ अघि माओवादी सेनाको पुर्नसामुहीकीकरण गर्ने, मस्यौदा संविधान निर्माण गर्ने कुरालाई निष्कर्षमा पुर्याउनमा हाम्रो पार्टी गम्भीर छ भन्ने जानकारी दिन यो पत्रकार सम्मेलनको आयोजना गरिएको हो।“

प्रचण्डले शान्ति प्रकृयालाई अघि बढाउनका लागि विवादका विषय बनिआएका माओवादी सेना समयोजनाका मुद्दा र पांच बुंदे सहमति लागु गर्ने वातावरण बनाउनका लागि गरेका प्रतिबद्धतालाई महत्वपूर्ण मानिएको छ।

तर त्यसका लागि माओवादीले सिफारिश गरेका मन्त्रीहरुको शपथ ग्रहण हुनुपर्नेमा उनले जोड दिएका थिए।

प्रचण्डकै पत्रकार सम्मलेनको जवाफमा आयोजना गरिएको जस्तो सुनिने प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा, प्रधानमन्त्री खनालले प्रचण्डले व्यक्त गरेका प्रतिबद्धतालाई सकारात्मक भने।

तीन शर्त

तर उनले माओवादी मन्त्रीहरुको शपथ हुन सक्ने वातावरण बनाउनका लागि आवश्यक भन्दै स्पष्ट तीनवटा शर्त पुन: अघि सारेका छन्।

पहिलो, प्रचण्डले व्यक्त गरेका शान्ति प्रकृयासंग सम्बन्धित प्रतिबद्धता लागू गर्दै जानुपर्ने, दोस्रो सिफारिश गरिएका २४ जनाको संख्या घटाउनु पर्ने र तेस्रो, माओवादी मन्त्रीहरुले दिएका राजीनामा फिर्ता लिनु पर्ने।

शर्तहरु राख्दै प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुलाई शपथ ग्रहण गराउने संकेत गरेका हुन् त?

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्,” माओवादी मन्त्रीहरुको शपथ हुने की नहुने भन्ने अझै टुंगो भएको छैन। त्यसका लागि वातावरण बनाउने काम हुन्छ की हुन्न भन्नेमा छलफल जारी छ।“

शपथ ग्रहण प्रकरणले सृजना गरेको राजनीतिक गतिरोधको अन्त्य होला की नहोला भन्ने अन्योल जारी रहंदा, विभिन्न संचार माध्यमहरुमा विभिन्न स्रोतहरुलाई उद्धृत गर्दै सोमबार थोरै संख्यामा माओवादी मन्त्रीहरुकोशसपथ ग्रहण हुनसक्ने अनुमानहरु गरिएका छन्।