संसद खोल्ने प्रयास विफल

  • 8 अगस्ट 2011
प्रधानमन्त्री झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption प्रधानमन्त्रीका सहयोगी तथा कांग्रेस नेताबीचका छलफलले निश्कर्ष दिन सकेको छैन

मुख्य विपक्षी नेपाली कांग्रेसले साउन २८ भित्रै पाँच बुँदे सहमति पूर्ण कार्यान्वयन हुनुपर्ने गरी प्रधानमन्त्रीको घोषणा संसदमा गरिनुपर्ने अडान राखेकोले संसद अवरोध खोल्ने प्रयास विफल भएको प्रधानमन्त्री निकटका नेताहरुले बताएका छन्।

भदौ १४ सम्म शान्ति प्रक्रियाका मूलभूत काम सक्ने तथा प्रधानमन्त्रीले राजीनामा दिने कुरा उक्त पाँच बुँदे सहमतिमा उल्लेख भएकोले कांग्रेसको माग पुरा गर्न नसकिएको उनीहरुको भनाई छ।

तर विपक्षी कांग्रेसले चाहिं साउन २८ गते सम्म ठोस प्रगति नभए राजीनामा गर्ने प्रधानमन्त्रीको धारणा संसदमा राख्नुपर्ने मागलाई सम्बोधन नगरिएकोले संसद रोकेको बताएको छ।

रस्साकस्सी

अस्वस्थताका कारण यसै पनि प्रधानमन्त्री अनुपस्थित हुने बरु उनको तर्फबाट उपप्रधानमन्त्री भरतमोहन अधिकारीले सरकारको धारणा संसदमा राख्ने कुरा चलेको थियो।

शनिबार तथा आईतबार दिनभरको रस्साकस्सीपछि दुई पक्ष सहमत भएको लिखत तयार पार्ने प्रयत्न भएको थियो।

तर आईतबार साँझ अबेर उक्त प्रयास विफल भयो।

कारण बताउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले भने, “नेपाली कांग्रेसले पाँच बुँदेका सम्पूर्ण बुँदा साउन २८ गतेसम्म पूरा नभए राजीनामा दिने कुरा उल्लेख गर्नुपर्ने माग राख्यो। जबकि ती काम गर्न त भदौ १४ सम्म म्याद छ।”

सरकारको उक्त अडानपछि कांग्रेसले संसद आईतबार पुन अवरुद्ध गर्‍यो।

“किन्तु र परन्तु लगाउँदै साउन २८ लाई धकेलेर लैजाने हो भने राष्ट्रमा द्वन्द्व निम्तिने छ। त्यसतर्फ नजाओस् भनेर पुन आग्रह गर्दै संसदको सम्पूर्ण कारवाही रोक्न अनुरोध गर्दछु,” अवरुद्ध हुनु अगाडि संसदमा बोल्दै उक्त पार्टीका प्रमुख सचेतक लक्ष्मण घिमिरेले बताए।

त्यसो त केही दिन यता देखि कांग्रेस र प्रधानमन्त्रीका सहयोगीहरुबीच सहमतिको लिखतको लागि निकै प्रयास भएका थिए।

दुई दलबीच कुरा मिल्न मिल्न लाग्दा माओवादीले त्यसमा रहेका कुनै विषयमा आपत्ती जनाउने तथा त्यसलाई मिलाउँदा पुन कांग्रेस भड्किने क्रम चलेकोले सहमतिमा ढिलाइ भएको ज्वालाले बताए।