'शान्ति प्रकृयामा प्रगति हुने लक्षण'

  • 11 अगस्ट 2011
प्रधानमन्त्री झलनाथ खनाल र सुशील कोइराला तस्वीर कपीराइट .
Image caption नेपाली कांग्रेसले प्रधानमन्त्रीको तत्काल राजीनामा खोजिरहेको छ

प्रधानमन्त्री झलनाथ खनालका एकजना सल्लाहकारले शान्ति प्रकृयामा ठोस प्रगति हुने सम्भावना बढेको बताउँदै उनले तत्काल राजीनामा दिनु नपर्ने तर्फ संकेत गरेका छन्।

प्रमुख राजनीतिक सल्लाहकार प्रकाश ज्वालाले प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार भएको वार्तापछि त्यस्तो परिस्थिति बनेको जनाएका हुन्।

खनालले शनिबारसम्म शान्ति प्रकृयाका मूलभूत काम सक्ने गरी सहमति हुन नसके राजीनामा दिने प्रतिबद्धता संसद समक्ष व्यक्त गरेका थिए।

एक्ला-एक्लै

सरकारको मुख्य भरोसा एकीकृत नेकपा माओवादीका प्रमुख प्रचण्डले शुरुमा प्रधानमन्त्रीको राजीनामा खोजिरहेको नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग कुरा गरेका थिए।

त्यसपछि प्रधानमन्त्रीसँग उनले एक्ला-एक्लै कुरा गरे।

सत्ता-सहयात्री दुई पार्टीका अध्यक्षबीचको वार्ता प्रधानमन्त्रीका निम्ति सुखद रहेको सल्लाहकार ज्वालाको भनाइ छ।

उनले भने, "वार्ताबाट शान्ति प्रकृयाले मूर्त रुप लिने बलियो सम्भावना देखिएको छ।"

मुख्य विपक्षी कांग्रेस पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको बाटो खोल्न प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने पक्षमा छ।

तर ज्वालाले भने, "शान्ति प्रकृयामा 'ब्रेक थ्रु' भएमा २८ गते राजीनामा दिनु पर्ने वाध्यता हुँदैन।"

सार्वजनिक अपेक्षा अनुसार काम नभए राजीनामा दिनेमा प्रधानमन्त्री दृढ रहेको उनले बताए।

तर ज्वालाले भने, चर्चा चले जस्तो शुक्रबार नै राजीनामा दिने साइत हेरिइसकेको छैन।

प्रतिकूलता

काठमाण्डूस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, प्रधानमन्त्री बन्न शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको खिचातानीले कांग्रेस सभापति अप्ठेरोमा परेका बेला प्रचण्ड आफूलाई धुरुक्कै पारेको पार्टीभित्रैको खेमाका एक अगुवा उपाध्यक्ष बाबुराम भट्टराईलाई मन नलागि नलागि प्रधानमन्त्री बनाउनु पर्ने वाध्यतामा छन्।

तर साउन २९ गते हुने एमाले केन्द्रिय कमिटीको बैठकमा खनालका विपक्षी पनि राजनीतिक हतियार उध्याएर बसेका छन्, जो प्रतिपक्षी दल जस्तै खनालको राजीनामा खोजिरहेका छन्।