प्रधानमन्त्री झलनाथ खनालद्वारा पदबाट राजीनामा

  • 14 अगस्ट 2011
शीर्ष नेताहरुको वैठक तस्वीर कपीराइट .
Image caption प्रधानमन्त्रीले राजीनामा दिनु अघि शीर्ष नेताहरुको बैठक बसेको थियो

प्रधानमन्त्री झलनाथ खनालले आइतबार सांझ राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष राजीनामा दिएका छन्।

राष्ट्रिय सहमतिको संयुक्त सरकार गठन गरी शान्ति र संविधान निर्माणको कार्य सम्पन्न गर्न मार्ग प्रशस्त गर्ने उद्देश्य सहित खनालले प्रधानमन्त्री पदबाट राजीनामा दिएको उनका प्रेस सल्लाहकारद्वारा आइतबार अबेर प्रकाशित प्रेस विज्ञप्तिमा जनाईएको छ।

त्यस अघि खनालले आफ्नो दलको केन्द्रिय समितिको बैठकमा बोल्दै आइतबारै राजीनामा दिने घोषणा गरेका थिए।

संविधानसभाको म्याद तीन महिना थप्ने बेला जेठ २८ गते मध्यराती भएको सहमतिमा प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको निम्ति मार्ग प्रसस्त गर्ने उल्लेख थियो।

प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रक्रिया अघि बढाउने विषयमा ठोस प्रगति नभए साउन २८ गते नै राजीनामा दिने घोषणा गरिसकेका थिए।

घोषणा

तर सत्ता साझेदार दलहरुको सुझावमा शनिबार राजीनामा नगरेका खनालले त्यसको भोलिपल्ट आफ्नो दल नेकपा एमालेको केन्द्रिय समितिको बैठकमा राजीनामा दिनेबारे मुख खोलेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, “उहाँले बैठकको अन्त्यमा आफ्नो प्रतिबद्धता अनुसार नै राजीनामा दिने घोषणा गर्नु भएको थियो।”

खनालको राजीनामाले राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि बाटो खोलिदिने भनिएपनि सल्लाहकार थापा त्यसो हुनेबारे खनाल आफैं ढुक्क नभएको बताए।

अवरुद्ध शान्ति प्रक्रिया अघि बढाउने लगायतका विषयमा सहमति बनाउन प्रधानमन्त्रीले सप्ताहान्त भरी नै सत्तासाझेदार र प्रमुख दलहरुका एक पछि अर्को बैठकहरु डाकेका थिए।

तर तिनले राजनीतिक निकास दिएनन्।

दबाब

बालुवाटारमा आइतबार बसेको प्रमुख तीन दल तथा तराई केन्द्रित दलहरुका नेताहरुको बैठकमा पनि प्रधानमन्त्रीलाई राजीनामा दिन नेताहरुले दबाब बढाएका थिए।

अन्तत: साँझपख सकिएको एमाले केन्द्रिय समिति बैठकमा खनालले राजीनामा दिइहाल्ने अनि संसदको आगामी बैठकमा आफ्ना सबै कुरा राख्ने घोषणा गर्न पुगे।

आफ्नो राजीनामा र त्यसपछिको परिस्थितिका बारेमा उनले साँझ अबेरसम्म बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुसंग छलफल गरेका थिए।

प्रधानमन्त्री चुन्नको लागि संसदमा भएका १६ पटकका निष्कर्षहीन अभ्यासलाई टुङ्ग्याउँदै खनाल छ महिना भन्दा केही अघि अघि प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए।

अनिश्चय

तर उनको राजीनामा पछि नयाँ प्रधानमन्त्री को, कहिले र कसरी चुनिने होलान् भन्ने प्रश्न यतिखेर प्रखर तर अनुत्तरित छ।

भावी प्रधानमन्त्री आफ्नो दलबाट हुनु पर्ने बताइरहेको संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत माओवादीले बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवारमा अघि सारिसकेको छ।

नेपाली कांग्रेसभित्र चाहिं शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुबै भावी प्रधानमन्त्रीको प्रत्यासी बन्ने होडबाजीमा छन्।

भावी प्रधानमन्त्री र भावी सरकारबारेको अन्यौलले अबको १७ दिन अर्थात भदौ १४ गते सम्म संविधानको प्रारंभिक मस्यौदा र शान्ति प्रक्रियाका आधारभूत काम सिध्याउने प्रमुख दलहरुको प्रणलाई समेत अनिश्चयको कालो छायांमा पार्न सक्छ।