सहमतीय प्रधानमन्त्रीमा दुई दलको दावी

  • 16 अगस्ट 2011
नेपाली कांग्रेस मुख्यालय
Image caption कांग्रेसले शान्तिप्रकृयाका मूलभूत कुराहरु टुंगिनुपर्ने बताएको छ

राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार बनाउन आह्वान गरेको भोलीपल्ट मंगलबार त्यस्तो सरकारको नेतृत्व गर्न दुइ प्रमुख पार्टीहरु माओवादी र नेपाली कांग्रेसले आ-आफ्ना कसरत बढाएका छन्।

माओवादीले कांग्रेससँग आलोपालो प्रधानमन्त्री बन्ने आकांक्षा सहित सम्मानजनक शक्ति बाँडफाँडको प्रस्ताव अगाडि ल्याएको छ।

नेपाली कांग्रेसले भने शान्ति प्रक्रियाका मूलभूत कुरा टुंगिएपछि मात्रै माओवादी स्वीकार्य हुने बताएको छ।

संविधानसभाको सबभन्दा ठूलो दल एमाओवादीले कांग्रेससँग आलोपालो प्रधानमन्त्री र शक्ति बाँडफाँडमा आधारित भएर आफ्नो नेतृत्वमा सरकार बन्ने आधार बन्दै गएको दावी गरेको छ।

बुझाइ

शान्ति प्रक्रिया र संविधान लेखनबारे आफुहरुले कांग्रेसलाई आश्वस्त पार्न सक्ने उसको बुझाइ छ।

सरकार निर्माणका लागि हुने गरेका बैठकहरुमा संलग्न रहँदै आएका माओवादी नेता वर्षमान पुनले आलोपालोको विधिमा जान सकियो भने एमालेले नेतृत्व लिइसकेकाले अब माओवादीले र त्यसपछि कांग्रेसले नेतृत्व गर्ने आफुहरुको प्रस्ताव रहेको बताउँछन्।

उनी भन्छन्, “मोडालिटि नर्म्स र संख्यामा अनौपचारिक तहमा कुरा मिलिसकेको छ, हामीले त्यसलाई औपचारिक रुप दिन्छौं र विश्वास योग्य वातावरण बनाउँछौं।”

असंभव

Image caption माओवादीले आलोपालो व्यवस्था सहितको प्रस्ताव अघि सारेको छ

प्रधानमन्त्री को बन्ने भन्ने होडबाजी आज साम्य पार्दै सहमतीय सरकार बन्ने भए प्रधानमन्त्रीमा नेता शेरबहादुर देउवालाई अगाडि सारेको कांग्रेसले भने माओवादीले तत्काल शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नसक्ने भएकाले सहमतीय सरकारको प्रधानमन्त्री कांग्रेसबाट बन्नुपर्ने बताइरहेको छ।

कांग्रेस नेता विमलेन्द्र निधि भन्छन्, “हतियार र हतियार धारी जबसम्म एउटा पार्टीमा रहिरहन्छन् तबसम्म त्यो पार्टीको नेतृत्वको सरकारमा सामेल हुने काम संभव छैन।”

निधिले अहिले माओवादी पार्टीको नेतृत्वमा सहमतिको सरकार निर्माण हुन संभव नरहेको र त्यो कुरा माओवादी पार्टीका नेताहरुले बुझेको बताए।

अघिल्लो सरकार बन्नु अघि राष्ट्रपतिले राष्ट्रिय दलहरुकै आग्रहमा पटक पटक मौका दिँदा समेत सहमतिको सरकार बन्न नसकेपछि बहुमतको सरकार बनेको थियो।

मंगलबार नै माओवादीले राष्ट्रिय सहमतिको सरकार नबने बहुमतीय सरकारको नेतृत्व पनि बाबुरामले नै गर्ने निर्णय गरेकाले सहमतिको सरकार बन्नेमा प्रमुख दल आश्वस्त नरहेको पुष्टी हुन्छ।