चक्रीय प्रणालीमा कांग्रेस माओवादीबीच सहमति

  • 18 अगस्ट 2011
maoists leaders
Image caption नेपाली कांग्रेसको नेतृत्व स्वीकार्न अब माओवादीमा नीतिगत समस्या छैन

राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेको समय समाप्त हुन तीन दिन बाँकी रहँदा प्रधानमन्त्रीका दुई दावेदार दलहरु एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसबीच चक्रीय प्रणाली बमोजिम आलोपालो नेतृत्व गर्ने सैद्धान्तिक सहमति बनेको छ।

बुधबार प्रचण्ड र बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा बीचको भेटमा उपस्थित रहेका र छलफलमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार कांग्रेस माओवादीबीच चक्रीय प्रणालीबारे सैद्धान्तिक सहमति बनेको छ।

तर कसले पहिले नेतृत्व गर्ने भन्नेबारे भने चाहिं अझै सहमति बनी नसकेको बताइएको छ।

प्रधानमन्त्रीका दावेदार दलहरु एकीकृत माओवादी र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउन भएको पहिलो औपचारिक छलफल सकारात्मक रहेको नेपाली कांग्रेसले बताएको छ।

अस्वीकार

शीर्ष नेताहरु सम्मिलित बिहीबारको बैठकमा शान्ति प्रक्रिया नटुंगिएसम्म आफुहरुले कुनै हालतमा माओवादी नेतृत्व स्वीकार्न नसक्ने निर्णय यथावत रहेको कांग्रेस नेताहरुले बताएका थिए।

संविधानसभापछि माओवादीका तर्फबाट एकपटक र एमालेका तर्फबाट दुईपटक प्रधानमन्त्री भइसकेकाले अब पालो आफ्नै रहेको कांग्रेसको जिकिर छ।

कांग्रेस नेता निधिले भने, “शान्ति प्रक्रिया नटुंग्याएसम्म माओवादी नेतृत्व स्वीकार्न सक्ने अवस्था छैन।”

उपाध्यक्षत्रय मोहन बैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा, र सचिव सीपी गजुरेल सम्मिलित बैठकमा कांग्रेस समेतको राष्ट्रिय सहमतिको सरकार नबनी समस्या समाधान नहुने प्रचण्डले बताएका थिए।

फडको

नेता निधिले भने, “आजको सबभन्दा ठूलो फडको चाहिँ प्रचण्डले नेपाली कांग्रेसको नेतृत्व स्वीकार्न अब माओवादीमा नीतिगत समस्या छैन भने। त्यही नै हो।”

तर माओवादीले सबभन्दा ठूलो दल र शान्ति प्रक्रियाको मुख्य सरोकारवाला आफु भएकाले आफ्नै नेतृत्व स्वीकार्नुपर्ने बताएको छ।

सीपी गजुरेलले भने, “नीतिगत रुपमा कांग्रेस नेतृत्व स्वीकार्न सकिने बताए पनि अहिले प्रधानमन्त्रीमा हाम्रो दावी कायमै छ।”

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, जे जस्ता वार्ताहरु भइरहेपनि राष्ट्रिय सहमतिको सरकार बन्नेमा अझै आश्वस्त हुन सक्ने अवस्था छैन।