शान्ति प्रकृया टुंग्याउने योजनामा माओवादीमा विवाद

  • 19 अगस्ट 2011
बाबुराम भट्टराई
Image caption माओवादीले नेता बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको निम्ति अघि सारेको छ

सहमतिको सरकार बनाउन एकिकृत नेकपा माओवादीले अन्य दल समक्ष पेश गर्ने भनिएको शान्ति प्रकृया सम्बन्धि प्याकेजलाई लिएर उक्त दलभित्र विवाद उत्पन्न भएको छ।

नाम उल्लेख गर्न नचाहने माओवादीका एक वरिष्ठ नेताले बीबीसीलाई दिएको जानकारी अनुसार, त्यसै कारण नै शान्ति प्रकृया टुंग्याउने प्रस्ताव बनाउने माओवादीको आन्तरिक प्रयास पटक-पटक विफल भएको हो।

तर माओवादीको प्रधानमन्त्रीका उम्मेदवार बाबुराम भट्टराई निकट एकजना नेताले एक-दुई दिनभित्रै त्यस्तो प्रस्ताव तयार गरिने बताएका छन्।

'ब्रेक थ्रु'

सहमतिको सरकारको नेतृत्व दावी गरिरहेको नेपाली कांग्रेस सहित अन्य दलहरुले पनि शान्ति प्रकृया टुंग्याउने ठोस आधार पेश गरेमा माओवादीको नेतृत्व पनि स्वीकार गर्ने सकिने बताइ रहेका छन्।

तर शान्ति प्रकृया निप्टारा लगाउने गरी 'ब्रेक थ्रु' गर्ने योजना सुनाएको माओवादीले अहिलेसम्म औपचारिक प्रस्ताव पेश गरेको छैन।

एकजना वरिष्ठ नेताले बताए अनुसार, कतिपय विषयमा उपाध्यक्ष मोहन वैद्य पक्षको असहमतिले गर्दा शान्ति प्रकृया पुरा गर्ने भरपर्दो आधार तयार हुन नसकेको हो।

बाबुराम भट्टराई निकट पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले पनि विवाद रहेको कुरा पुरै अस्वीकार गरेनन्, तर उनको शैली फरक थियो।

उनले भने, "पार्टीमा केहि विषयमा छलफल, वहस त छन् तर विवादले समस्या अल्झाउने छैन्। शान्ति प्रकृया टुंग्याउन हामी करिव एकजुट भएका छौं।"

फाटो

केही साता अघिसम्म प्रचण्ड विरोधी गठबन्धनमा बैद्य र भट्टराई पक्ष एकसाथ थिए।

तर नाम खुलाउन नचाहने माओवादीका ती नेताका अनुसार, समायोजनको संख्या, दर्जा, नेतृत्व तथा पुनर्स्थापना र अवकासमा जानेलाई दिने प्याकेज लगायतका अन्य प्रकृयामै बैद्य पक्षले सघाइरहेको छैन्।

नेता पौडेलले त्यस्तो फाटो अस्वीकार गर्दै भने, "सेना समायोजनका विषयमा एक-दुई दिनभित्र बटम लाईन सहितको प्रस्ताव पेश गर्न हामी गृहकार्य गरिरहेका र्छौं।"

सहमतिको सरकार बनाउने म्याद दुई दिन बाँकी छ।