बहुमतिय सरकार बने पनि सहमति जुट्ने प्रचण्डको आशा

  • 22 अगस्ट 2011
राष्ट्रपति यादव
Image caption सात दिनको म्याद गुज्रिएपछि राष्ट्रपतिले तीन दिनको म्याद थपिदिएका थिए

एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिको सरकार गठन नभएर बहुमतिय सरकार गठन गर्ने अवस्था आए पनि दलहरुबीच सहमति हुने बताएका छन्।

उनले त्यस्तो सहमतिले शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई अघि बढाउने विश्वास व्यक्त गरेका छन्।

सहमतिको सरकार गठन गर्नको निम्ति राष्ट्रपतिले दलहरुलाई तीन दिन म्याद थप गरिदिएको एक दिनपछि बहुमतियमा जाने अवस्थाका बारे प्रचण्डले मुख खोलेका हुन्।

राष्ट्रिय सहमतिको सरकार गठन गर्नको निम्ति राष्ट्रपतिले तीन दिनको म्याद थपिदिएको भएपनि दलहरुले बुधबारसम्ममा सहमतिको सरकार बन्ने संकेत दिइसकेका छैनन्।

बहुमतिय

बरु बहुमतिय आधारमा सरकार बन्ने अवस्था आए के गर्ने भन्ने बारे छलफलहरु शुरु भएका छन्।

सोमबार संवाददाताहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले बहुमतिय आधारमा सरकार बन्ने अवस्थाको निम्ति समेत दलहरु मानसिक रुपमा तयार भएको संकेत गरे।

“बहुमतिय आधारमा सरकार गठन गर्ने अवस्था आयो भने पनि पहिले जस्तो हुँदैन, दलहरुबीच सहमति हुन्छ भन्ने मेरो विश्वास छ।”

सहमतिय सरकारको नेतृत्वका लागि प्रस्तावित माओवादीका बाबुराम भट्टराई र नेपाली कांग्रेसका शेरबहादुर देउबाबीच आलो पालो गर्ने प्रस्तावमाथि छलफलहरु भएपनि कुनै सहमति नभएपछि परिस्थितिले बहुमतिय तर्फ कोल्टे फेर्ने संभावना बढेको हो।

विवाद

बहुमतियमा जाने अवस्थामा दोस्रो ठूलो दल नेपाली कांग्रेसबाट देउबा वा संसदीय दलका नेता रामचन्द्र पौडेल को उम्मेदवार हुने भन्ने विषयमा आन्तरिक विवाद चर्किएको बारेका विवरणहरु बाहिर आएका छन्।

तर नेपाली कांग्रेसका एकजना नेता नेता रामशरण महतले त्यसबारे पार्टीले उचित समयमा निर्णय गर्ने बताए।

“अहिले केहि भएको छैन, तर बहुमतिय आधारमा सरकार बन्ने अवस्था आयो भने नेपाली कांग्रेसले आफ्नो उम्मेदवार दिने छ।”

प्रमुख दलहरुबीच बुधबार सम्ममा सहमति जुट्न नसके राष्ट्रपतिले बहुमतिय सरकार गठन गर्न आव्हान गर्ने छन्।

संकट

जेठ १४ गते मध्यरातीको सहमति पछि तीन महिनाको पुन:जीवन दिइएको संविधानसभाको म्याद भदौ १४ गते सकिदै छ।

कतिपय विश्लेषकहरु भन्छन्, नयाँ सरकार गठनको विषयमा दलहरुबीच शीघ्र सहमति हुन नसके भदौको दोस्रो साता उनीहरु संगै देश पनि गम्भीर संकटको संघारमा उभिन पुग्ने छ।