बहुमतीय सरकार गठनको प्रक्रिया शुरु

  • 24 अगस्ट 2011
ram baran yadav
Image caption राष्ट्रपतिले बहुमतीय सरकार बनाउने प्रक्रिया शुरु गरेका छन्।

राष्ट्रपति रामबरण यादवले बहुमतीय सरकार बनाउने प्रक्रिया शुरु गर्न संसदलाई पत्राचार गरेका छन्।

पहिले सात दिन र पछि तीन दिन गरी राष्ट्रपतिले दिएको समयमा दलहरु सहमतीय सरकार बनाउन विफल भएका थिए।

बुधबार साँझ पाँचबजे सहमतीय सरकार बनाउने म्याद समाप्त भएपछि नेपाल बहुमतीय सरकार बनाउने प्रक्रियामा प्रवेश गरेको छ।

बहुमतीय सरकारका लागि माओवादीले सहमतीयकै उम्मेदवार बाबुराम भट्टराईलाई निरन्तर राखेको छ भने नेपाली कांग्रेसले शेरबहादुर देउवा नभै रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ।

परिणाम

प्रधानमन्त्रीको चुनावमा तटस्थ बस्न र बहिस्कार गर्न समेत नपाइने व्यवस्था गरिएकाले तत्काल परिणाम आउने अपेक्षा राखिएको छ।

सहमतीय सरकार बनाउन राष्ट्रपतिले दिएको पहिलो सात दिन दलहरुले एकापसमा छलफलमा विताए पनि थपिएको तीन दिन भने बहुमतीय भएको खण्डमा अपनाउनुपर्ने रणनीतिमै विताएका थिए।

सहमतीय सरकार गठनको कसरतका बेला संविधानसभाका अधिकांश दलले माओवादी नेतृत्व स्वीकार्न उसँग शान्ति प्रक्रियामाथि आश्वस्त हुने खाका खोजेका थिए।

खाका

तर बहुमतीय प्रक्रिया शुरु भएपछि मात्रै माओवादीले त्यस्तो खाका जारी गर्ने भएको छ।

बुधबार दिउसो माओवादी पदाधिकारी बैठकले तयार पारेको खाका बारे सचिव गजुरेलले भने, “अध्यक्षले आज ल्याएको खाकामा हामीले थपथाप गर्‍यौं भोली स्थायी समितिमा बहस भएर निर्णय हुन्छ।”

उक्त खाकाको आधारमा आफ्ना उम्मेदवारले मत पाउने र आम नागरिक देखि देश विदेशका शक्तिहरुले पनि माओवादी धारणा बुझ्ने गजुरेल बताउँछन्।

आफु प्रधानमन्त्रीको उम्मेदवार भए सहमतिको सरकारको नेतृत्व कांग्रेसलाई आउने दावी सहित मैदानमा खडा भएका देउवा भने बुधबारदेखि प्रधानमन्त्रीको दौडबाट बाहिरिएको देउवा पक्षीय कांग्रेस नेताहरुले जानकारी दिएका छन्।

बहुमतीयको उम्मेदवार आफु रहेको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बताए।

अबको ठीक एक हप्तापछि संविधानसभाको म्याद सकिने भएकाले तीन, चारदिन भित्रै संसदमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सम्पन्न हुने गरी सभामुखले प्रक्रिया निर्धारित गर्ने बताइएको छ।