प्रधानमन्त्रीका दुई उम्मेदवार बहुमत जुटाउने कसरतमा

  • 26 अगस्ट 2011
माओवादी उम्मेदवार डा बाबुराम भट्टराई
Image caption माओवादीको पछिल्लो प्रस्तावप्रति अन्य ठूला दलहरुले असन्तुष्टि जनाएका छन्

आईतबारको लागि तोकिएको चुनावको लागि माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराई तथा कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

तर दुवैले हालसम्म बहुमत समर्थन जुटाइसकेका छैनन्।

ती दुई दलपछिको तेस्रो ठूलो दल एमालेले अझै सहमतिको लागि कसरत गर्ने बताएको छ।

माओवादीले विहिबार ल्याएको प्रस्तावप्रति एमालेले असन्तुष्टि जनाएकोबेला माओवादीलाई जित्न निर्णायक देखिएको तराई केन्द्रित दलहरुको मोर्चाले पनि अझै केही स्पष्ट निर्णय लिएको छैन।

कसरत

२३६ सभासद भएको सबभन्दा ठूलो दलको उम्मेदवारको हैसियतले भट्टराईलाई हाल कायम ५९४ कूल सदस्यबाट बहुमत अर्थात २९८ सभासदको समर्थन जुटाउन तुलनात्मक रुपमा सजिलो छ।

उम्मेदवारी नदिएको तेस्रो ठूलो दल एमालेको १०६ सभासदको समर्थन पाए उसको लागि सबभन्दा राम्रो हुन्छ।

तर माओवादीको पछिल्लो प्रस्ताव परिमार्जन नभएसम्म त्यो सम्भावना निकै क्षीण छ।

“अहिले पेश गरेको प्रस्तावमै माओवादी अडिरह्यो र त्यसमा सुधार गर्ने र सच्च्याउने गुञ्जायस रहेन भने स्वाभाविक रुपमा हामीले अर्को दिशातर्फ जानु पर्ने अवस्था आउँछ,” एमालेका सचिव युवराज ज्ञवालीले भने।

Image caption यसअघि गत वर्षको प्रधानमन्त्रीको चुनावमा पौडेल सत्रपटक पराजित भएका थिए

एमालेलाई नसके माओवादीले पाँच दलका ६७ सभासद रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई फकाउनु पर्छ।

“विश्वसनीयताका आधारहरु छन्, र शान्ति तथा संविधानका कुराहरु छन्। यी कुराहरुमा जसले मोर्चालाई विश्वास दिलाउँछ उसैलाई हामीले समर्थन दिनेछौं। अहिलेसम्म मोर्चाले कुनै निर्णय लिएको छैन,” मोर्चा सम्बद्ध सदभावना पार्टिका अध्यक्ष राजेन्द्र महतोले बताए।

जम्मा ११४ सभासद रहेको कांग्रेसका नेता पौडेलको दाउचाहीं मोर्चा र एमाले दुवैलाई तथा अन्य साना दल समेतलाई आफ्नो पोल्टामा पार्नु रहेको छ।

जसको निम्ति उनले शनिबार बस्ने एमालेको स्थायी समितिको बैठक तथा मोर्चाका बैठकहरुको परिणाम कुर्नै पर्छ।

प्रबल

जे होस् नियमावली परिवर्तन भएका कारण विगतमा जस्तो चुनावमा तटस्थ बस्न नपाइने हुनाले आईतबारको निर्वाचन निर्णायक हुने प्रबल सम्भावना रहेको बताइएको छ।

“दुवै उम्मेदवारले बराबर समर्थन पाएको खण्डमा वा दुवैले बहुमत पुर्‍याउन नसकेको खण्डमा दोस्रो चरणको मतदानमा जानुपर्ने हुन सक्छ। तर परमार्जित गरिएको संसदीय नियमावलीको आधारमा कुरा गर्दा त्यसो हुने सम्भावना एकदमै कम छ,” संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए।

संविधानसभाको थपिएको म्याद सकिन तीन दिन अगाडि नयाँ प्रधानमन्त्रीको चुनाव तोकिएको छ।

तर चुनावमा रुमल्लिएका दलहरुले त्यो म्यादबारे के गर्ने अझै स्पष्ट पारेका छैनन्।