प्रधानमन्त्रीमा कसले जित्ने अझै अनिश्चित

  • 27 अगस्ट 2011
constituent assembly nepal
Image caption नयाँ प्रधानमन्त्रीका लागि आइतबार संविधान सभामा निर्वाचन हुँदैन

निर्णायक भूमिकामा रहेका दलहरु एमाले र तराई केन्द्रित दलहरुको मोर्चा अझै अनिर्णित भएकाले आइतबार को प्रधानमन्त्री चुनिएलान् भन्ने अझै अनिश्चित रहेको छ।

एमालेले शनिबार साँझ अवेरसम्म माओवादीसँग अन्तिम छलफल गर्ने र माओवादीले थप प्रतिबद्धता ल्याएन भने आइतबार नेपाली कांग्रेसलाई मत हाल्ने निर्णय गरेको छ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भने आइतबार मतदान हुनु अघिल्लो घडिमा मात्र निर्णय गर्ने जनाएको छ।

छलफल

सहमतीय सरकार आफुहरुको मुल मन्त्र बताउँदै आएको एमालेले माओवादीसँग सहमतीको सरकारका निम्ति शनिबार साँझ अन्तिम छलफल गर्दैछ।

शनिबारै बसेको एमाले स्थायी समितिको बैठकको निर्णयबारे एकजना एमाले सचिव शंकर पोखरेल भन्छन्, “यदि माओवादीले शान्ति प्रक्रिया टुंग्याउनेबारे दोहोरो अर्थ नलाग्ने गरी ठोस प्रस्ताव ल्याउन सकेन भने हामी कांग्रेसलाई मत हाल्छौं।”

एमालेको समर्थन नपाए पनि माओवादीले मधेशी मोर्चाको समर्थनमा सरकार बनाउन सक्छ।

तर मोर्चाको समर्थनको निर्णय भने अन्तिम घडिमा मात्र हुने फोरम लोकतान्त्रिकका एक जना नेता रामजनम चौधरी बताउँछन्।

निर्णय

चौधरी भन्छन्, “भोली फेरि हामी सबै दलसँग बस्छौं र अन्त्यमा हाम्रो बैठक बस्छ, मतदान गर्नु अघि निर्णय गर्छौं।”

संविधान सभाको दोश्रो ठूलो दल कांग्रेसलाई भने तेश्रो दल एमाले र चौथो शक्ति मोर्चा सहित साना दलको समेत समर्थन आवश्यक छ।

खासगरी माओवादीको शान्ति प्रक्रिया सम्बन्धी खाकाबाट असन्तुष्ट एमालेको मत सजिलै आफुलाई आउने ठानेको कांग्रेसले पनि मोर्चाको मत आफुतिर तान्ने प्रयत्न जारी राखेको छ।

प्रधानमन्त्रीको निर्वाचन आइतबार दिउसो एकबजेलाई निश्चित गरिएको छ।

उम्मेदवार

माओवादीका बाबुराम भट्टराई र कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन्।

उनीहरुबीच पहिलो चरणमा कसैले बहुमत ल्याउन नसके दोश्रो र तेश्रो चरणको निर्वाचन पनि आइतबारै गर्ने तय गरिएको छ।

अघिल्लोपटक सात महिना सम्म निर्वाचन हुँदा पनि कोही निर्वाचित हुन नसकेपछि कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै प्रधानमन्त्रीको निर्वाचनमा सभामुखको अनुमति बिना कोही पनि अनुपस्थित हुन नपाउने र तटस्थ पनि बस्न नपाउने भएकाले पहिलो चरणमै प्रधानमन्त्री चयन हुने अनुमान कतिपयको छ।