पुनर्वर्गीकरण थाल्ने माओवादी निर्णय

  • 30 अगस्ट 2011
माओवादी नेता त्रय
Image caption प्रधानमन्त्री चुनावका बेला माओवादीले भदौं १४ गतेबाट पुनर्वर्गीकरण गर्ने वाचा गरेको थियो

एकिकृत नेकपा माओवादीले अस्थाई शिविरमा रहेका आफ्ना लडाकूको पुनर्वर्गीकरण प्रकृया वुधवारबाट शुरु गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री चुनावमा समर्थन जुटाउन माओवादीले भदौं १४ गतेबाट लडाकूको पुनर्वर्गीकरण गर्ने प्रतिवद्धता जनाएको उक्त दलको स्थाई समितिले त्यस्तो निर्णय गरेको हो।

त्यसमा सहमति जुटाउन सेना समायोजन विशेष समितिको बैठक बुधवार नै डाकिएको छ।

माओवादी सचिव सीपी गजुरेलले भने, "पुनर्वर्गीकरण प्रकृयाको प्रारम्भिक काम शुरु गर्न कर्मचारीहरु बुधवारबाटै अस्थाई शिविर गई लगत संकलन गर्ने निर्णय गरेका छौं।"

राजनीतिक निर्णय

तर विशेष समिति सचिवालयका संयोजक तथा नेपाली सेनाका पूर्व रथी बालानन्द शर्माले राजनीतिक निर्णयको खाँचो औंल्याएका छन्।

उनी भन्छन्, "पुनर्वर्गीकरण अघि त समायोजनको मापदण्ड, संख्या, दर्जा र अवकास तथा पनर्स्थापना प्याकेजबारे निर्णय हुनुपर्छ।"

माओवादी सचिव गजुरेलले समायोजन र अवकास वा पनर्स्थापनामा जानेलाई पुनर्वर्गीकरण नगरिने बताए।

उनले भने, "समायोजनमा जाने उपयुक्त संख्या घाइते, अपाङ, सुत्केरी र समायोजनमा प्रतिष्पर्धी हुन सक्ने संख्याको लगत लिएपछि पो थाहा हुने कुरा हो।"

असम्भव

तर लगत लिन पनि विशेष समितिसँग जनशक्ति छैन।

अघिल्लो सरकारकै पालामा विशेष समितिको निर्णय लागु नभएपछि कर्मचारी भर्ती बीचमै रोकिएको थियो।

संयोजक शर्मा भन्छन्, "दलहरुले राजनीतिक निर्णय गर्दासम्म हामीले हप्ता-दश दिनमा जनशक्ति छनौट गरी शिविर पुग्न सक्छौं।"

झलनाथ खनाल नेतृत्वको सरकारको पालमा विशेष समितिले पुनर्वर्गीकरणको कार्यतालीका सार्वजनिक गर्दा धेरै आशावादी देखिएका थिए।

तर माओवादीभित्र विवाद चर्किएपछि तालीका अलपत्र पर्‍यो र कामको ठेगान नभएपछि कर्मचारी भर्ती पनि रोकिएको थियो।

माओवादीको पछिल्लो आग्रसरताले बाटो खुला गरे जस्तो देखिए पनि यतिकैमा बिना अवरोध समायोजन अव अघि बढ्नेमा विश्वस्तै हुने स्थिति देखा परेको छैन।