शान्ति प्रक्रिया इतिहासको सवाल: प्रचण्ड

  • 5 सेप्टेम्बर 2011
माओवादी अध्यक्ष प्रचण्ड
Image caption पार्टिभित्र उब्जने विवादलाई छिचोल्दै सेना समायोजन टुंग्याउने प्रचण्डले बताएका छन्

मुख्य सत्ताधारी घटक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो तीन महिनाभित्र लडाकु समायोजन लगायत शान्ति प्रक्रियाका महत्वपूर्ण काम फत्ते गरी छोड्ने वाचा गरेका छन्।

उनको यो भनाइ आफ्नो दलको नेतृत्वमा सरकार बनेको एक साता नपुग्दै दलभित्रैबाट गंभीर चुनौती आएपछि सार्वजनिक भएको हो।

एबीसी टेलिभिजन च्यानलको वार्षिकोत्सव समारोहमा बोल्दै उनले भने, “जस्तासुकै चुनौती आएपनि सेना समायोजन र पुनर्स्थापनाको जुन अहिले सबभन्दा संवेदनशील हिस्सा छ, त्यसमा माओवादी पार्टीले गंभीर पहल गर्छ।”

इतिहास

उनले भने, “यो सवाल प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, सुशील कोइराला कुनै व्यक्तिको होइन यो सवाल इतिहासको भएको छ।”

उनले शान्ति प्रक्रिया र संविधान बनाउने काममा तीन महिनाभित्र प्रगति नभए राजनीतिले डरलाग्दो मोड लिने चेतावनी दिए।

प्रचण्डले भने, “सकारात्मकतिर इतिहास गएन भने नकारात्मक तिर जान्छ। यो कसैले रोक्न सक्ने कुरै होइन। एउटा बाटो त इतिहासले लिन्छ र त्यो धेरै निर्मम भएर पनि आउँछ।”

उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन अध्यक्ष प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सरकार गठन भए लगत्तै माओवादी लडाकुका हतियारको कन्टेनरको साँचो विशेष समितिलाई बुझाउने निर्णयमा पनि उनको उत्तिकै महत्वपूर्ण भूमिका थियो।

उक्त निर्णयले माओवादीभित्र सानोतिनो भुइँचालो ल्याइदिएको छ।

तर प्रचण्डले आफु यसबाट नडग्ने विश्वास दिलाउन खोजेका छन्।

तराई केन्द्रित दलहरुसंगको अप्रत्याशित तर भर गर्न नसकिने भनिएको गठबन्धनका बलमा बनेको वर्तमान सरकारका सामु आउँदो तीन महिना भित्र शान्ति प्रक्रिया र संविधान निर्माणलाई टुंग्याउने ज्यादै ठूलो र गाह्रो चुनौती छ।

संविधानसभाको संभवत: अन्तिम पटक थपिएको यो म्यादभित्र ठोस काम हुन सकेन भने पाँच वर्षअघि शुरु भएको नयाँ इतिहासले अर्को कोल्टे फेर्ने धेरैले आशंका गरेका छन्, जसलाई प्रचण्डले अस्वीकार गरेनन्।

गंभीर

माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया पूरा गरिछोड्ने प्रतिबद्धता यसअघि पनि धेरैपटक जनाएका थिए।

विश्लेषकहरुका अनुसार सोमबार उनले दोहोर्‍याएको प्रतिबद्धता समयको दृष्टिले अरु बेला भन्दा गंभीर देखिएको छ।

उनीहरु भन्छन्, एकातिर प्रधानमन्त्री भट्टराईको सरकारको जग बस्न नपाउँदै हल्लाउने आशंका गरिएको आन्तरिक विरोधप्रति लक्षित उनको भनाइ शान्ति प्रक्रियाप्रति अरु दलहरुको विश्वास जित्न पनि लक्षित भएको देखिएको छ।