शान्ति प्रक्रियामा कांग्रेसको असहयोग: प्रधानमन्त्री

  • 17 सेप्टेम्बर 2011
baburam bhattarai तस्वीर कपीराइट .
Image caption शान्ति प्रक्रिया टुंग्याउन कांग्रेसले अहसयोग गरिरहेको छ

प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार राष्ट्रपतिसँगको भेटवार्तामा शान्ति प्रक्रियामा कांग्रेसले असहयोग गरेको बताएका छन्।

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानु अघि शुक्रबार संसदलाई संबोधन गर्दा पनि उनले प्रतिपक्षीहरुले असहयोग गरेको गुनासो गरेका थिए।

न्यूयोर्क जानु अघि शान्ति प्रक्रियाबारे केहि न केहि गरेर जाने प्रधानमन्त्रीको यस अघिको अठोट होस् या माओवादी अध्यक्ष प्रचण्डको शान्ति प्रक्रिया टुंग्याउन हदैसम्मको लचकता अपनाउने शनिबारको भाषण, अब झण्डै दुइ हप्ता शान्ति प्रक्रिया जहाँको तहिँ बस्ने देखिन्छ।

प्रमुख विपक्षी कांग्रेसचाहिँ आन्तरिक द्वन्द्वमा अल्झेको माओवादीले शान्ति प्रक्रिया टुंग्याउन इमान्दार प्रयास नगरेको बताउँछ।

विवरण

आइतबार मध्यरातमा न्यूयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार बिहान राष्ट्रपतिसँग झण्डै आधा घन्टा आफ्नो न्यूयोर्क भ्रमण, देशमा आफुले गरिरहेका काम कारवाही सँगसँगै शान्ति प्रक्रियाबारे विवरण दिएका थिए।

राष्ट्रपतिसँगको भेटमा सँगै रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले न्यूयोर्कबाट फर्कने बित्तिकै प्रधानमन्त्रीले केही गर्ने बताए।

यादवका अनुसार प्रधानमन्त्री अझ पनि छलफलमा व्यस्त रहेको र जानु अघि केही गरेरै जाने मानसिकतामा रहेका छन्।

लचकता

शनिबार बिहान राजधानीमा आयोजित एउटा कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउन माओवादीले थप लचकता अपनाउने बताएका थिए।

प्रचण्डले भने, "यदि त्यो सहमति निर्माण गर्न ढिला भयो भने माओवादी एक्लैले लिनुपर्ने कति हो सबै लिएर भए पनि शान्ति प्रक्रिया टुंग्याउन चाहन्छ।"

तर प्रचण्डसँग शान्ति प्रक्रियाबारे माओवादी नेतृत्वको सरकार बनाउनुअघि सार्वजनिक रुपमा राखेका प्रतिबद्धता बाहेक तत्काल थप योजना नहुन पनि सक्छ।

प्रचण्ड निकट एकजना सभासद अग्नी सापकोटाले भने,"शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कांग्रेसमा चाहना देखिन्न, व्यवहारिक, प्राविधिक रुपमा अझै लचक भएर पनि शान्ति प्रक्रिया टुंग्याउने स्पिरिटमा हाम्रा अध्यक्षले त्यसो भन्नुभएको हो।"

आरोप

माओवादीहरुले कांग्रेसलाई शान्ति प्रक्रियाको बाधक ठहर्‍याइरहँदा लडाकु समायोजन विशेष समितिका सदस्य समेत रहेका कांग्रेस नेता रामशरण महतको आरोप माओवादीतर्फ नै छ।

महतले भने, "दुई, तीन दिन रातदिन बसेर छलफल गरौं भन्दा सुशीलजीसँगै कुरा गर्ने भनेर अल्मल्याउन खोज्नुभो। उहाँहरु शान्ति प्रक्रिया टुंग्याउन गहिरिएर छलफल गर्नै चाहनुभएको छैन।"

माओवादी गंभीर हुन नसक्नु उसको आन्तरिक समस्याले पनि हुन सक्ने र रणनीतिक चाल पनि हुन सक्ने महतको जिकिर थियो।

बाबुराम भट्टराई न्यूयोर्कबाट फर्कँदासम्म उनी प्रधानमन्त्री भएको एक महिना वितिसक्नेछ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, दलहरुबीचको आरोप प्रत्यारोप र चरम अविश्वास कायमै रहने हो भने शान्ति प्रक्रिया र संविधान लेखन ठप्प रहने निश्चित देखिन्छ।