नेपालमा भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु

  • 18 सेप्टेम्बर 2011
बृटिश दुतावासको पर्खाल तस्वीर कपीराइट Reuters
Image caption काठमाण्डू स्थित बृटिश दुतावासको पर्खाल भत्कंदा तीन जनाको ज्यान गएको बताइन्छ

नेपालमा ६.८ रेक्टर स्केलको भूकम्प जांदा कम्तीमा पांच जनाको ज्यान जानुका साथै अरु केही घाइते भएका छन्।

प्रहरीले दिएको जानकारीलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले जनाए अनुसार काठमाण्डू स्थित बृटिश दुतावासको पर्खाल भत्कंदा तीन जनाको ज्यान गएको छ भने पूर्वी नेपालमा अर्कै घटनामा अरु दुई जना मारिएका छन्।

भूकम्पका धक्काहरु भारतको सिक्किम र अन्य राज्यहरुका साथै बाङग्लादेशमा पनि महसूस गरिएको थियो।

खानी तथा भूगर्भ बिभाग, भूकम्प मापन केन्द्रका भूगर्भ शास्त्री पृथ्वी श्रेष्ठले बीबीसीलाई बताए अनुसार भूकम्पको केन्द्रबिन्दु भारतीय राज्य सिक्किमको सीमा नजिकै नेपालको पहाडी जिल्ला ताप्लेजुङमा रहेको थियो।

राजधानी काठमाण्डू र देशका अन्य भागहरुमा मानिसहरु आँत्तिएर आ-आफ्नो घर र सपिङ सेन्टरहरु छोडी भागेका थिए।

बिधायिका संसदमा छलफलमा ब्यस्त सांसदहरु पनि दौडादौड गरेर चउरमा निस्किएका थिए।

ट्राफिक ठप्प हुनुका साथै होटल र बारहरु खाली गरिएको थियो।

क्षति र हताहती बारे पूर्ण बिवरण आउन बाँकी नैं छ।