वैद्य समूहको भेला अनुशासनहीन: माओवादी प्रवक्ता

  • 22 सेप्टेम्बर 2011
माओवादी उपाध्यक्ष मोहन वैद्य
Image caption पार्टी अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री भट्टराईप्रति वैद्य पक्षधरहरु खनिएका छन्

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षधरहरुले गरेको छुट्टै भेलालाई अनुशासनहीन भन्दै पार्टी अध्यक्ष पक्षधरहरुले त्यसले शान्ति प्रक्रिया र सेना समायोजनको गतिलाई प्रभावित पार्न सक्ने बताएका छन्।

वैद्य पक्षधरहरुचाहिं अर्को साता शुरु हुने केन्द्रिय समितिको बैठकमा चार बुँदे सहमति र हतियारको साँचो बुझाउने पार्टी नेतृत्वको निर्णयका विरुद्ध खरो रुपमा उत्रने तयारीमा छन्।

उल्लंघन

गत मंसिरमा पालुङ्गटारको विस्तारित भेला र त्यसपछिका केन्द्रिय समितिका बैठकहरुले समानस्तरका नेताहरुका बीच मात्रै भिन्न विचार समूहहरुको भेला गर्न छुट दिएको पार्टी अध्यक्ष प्रचण्ड पक्षधरहरुको भनाइ छ।

बुधबार काठमाण्डौंमा उपाध्यक्ष वैद्यले डाकेको भेला त्यस प्रकृतिको नभएकाले अनुशासनको उल्लंघन भएको पार्टी प्रवक्ता दिनानाथ शर्माले बताए।

“पार्टी उपाध्यक्ष वैद्य अनुशासन विभागको संयोजक समेत हुनुहुन्छ। यसरी उहाँले नै अनुशासनहीन तथा अराजक थितिलाई अघि बढाउनुभयो भने अरुले के सिक्लान्?” शर्माले प्रश्न गरे।

तर अन्य पक्षलेपनि त्यस्तै गरीआएको भन्दै वैद्य पक्षधर नेताहरुले ती आरोपको खण्डन गरे।

कडा

भेलाबाट उत्साहित वैद्य पक्षधरहरु अब असोज १३ गतेदेखि शुरु हुने भनिएको केन्द्रिय समितिको बैठकमा कडा शैलीमा प्रस्तुत हुन कम्मर कसेका छन्।

खासगरी सरकार गठन गर्दा तराई केन्द्रित दलहरुको मोर्चासंग गरिएको चार बुँदे सहमति र पूर्व माओवादी लडाकुहरुको हतियार राखिएको कन्टेनरको साँचो बुझाइएको प्रति बैठकमा तीव्र विरोध गरिने वैद्य पक्षधरले बताए।

बहुमतचाहिं अझैपनि पार्टी नेतृत्वकै पक्षमा रहेको बताइएको बेला बैठकको निर्णयलाई उनीहरुले कसरी लेलान्? भन्ने प्रश्नमा वैद्य पक्षधर एकजना नेता सीपी गजुरेलले भने, “केन्द्रिय समितिले के निर्णय गर्छ त्यो त अहिले भन्न सकिंदैन। तर जे होस् पार्टी एकतालाई कायम गर्ने कुरा आउँछ। एउटा पक्षको विचारले प्रमुखता पायो नै भनेपनि आखिर त्यसलाई समाधान गर्न बहुमत र अल्पमतको बाटोबाटै जानुपर्ने हुन्छ।”

प्रभाव

त्योभन्दा पनि महत्वपूर्ण चाहीं माओवादीभित्रको आन्तरीक कलहले जारी शान्ति प्रक्रिया तथा संविधान निर्माणमा पर्न सक्ने प्रभाव रहेको छ।

प्रधानमन्त्री बाबुराम भट्टराईले सेना समायोजन र संविधान निर्माणको प्रक्रियालाई आफुले शुरुमा ल्याएको ४५ दिने कार्यसूची अनुसारै लैजाने बताएका थिए।

तर विवाद बढ्दै गएमा त्यसमा गम्भीर समस्या आउन सक्ने माओवादी प्रवक्ता शर्माले स्वीकारे।

“निर्णय एउटा गर्ने अनि त्यसैको विरोधमा सडकमा आगोबाल्दै हिंड्ने स्थितिको सृजना भयो भने त्यसले अवश्यपनि शान्ति प्रक्रिया र संविधान लेखनलाई धेरै असर गर्छ,” शर्माले भने।

आफ्नै पार्टीले गरेको निर्णयबारे भिन्न भिन्न व्याख्या हुन थालेकाले माओवादीभित्रको समस्या झन जटिल बन्दै जाने देखिएको छ।

अर्को साता शुरु हुने केन्द्रिय समितिको बैठकले त्यसको समाधान दिने नेताहरुको दावीप्रति विश्लेषकहरुले अझै प्रश्न उठाइरहेका छन्।