काठमाडौं नजिकै जहाज दुर्घटना, सवार सबैको मृत्यु

  • 25 सेप्टेम्बर 2011
buddha air तस्वीर कपीराइट BBC World Service
Image caption बुद्ध एअरको एक दशक भन्दा लामो इतिहासमा पहिलोपटक जहाज दुर्घटना भएको छ

काठमाडौं विमानस्थलमा अवतरण गर्न केहि मिनेट मात्रै बाँकी हुँदा आइतबार दुर्घटनामा परेको जहाजका सबै यात्रु र चालकदलको निधन भएको छ।

निजी विमान सेवा कम्पनी बुद्ध एअरको १९०० डी बीच एअरक्र्याफ्टको जहाज बिहान सबेरै माउन्टेन फ्लाइटबाट फर्कने क्रममा दुर्घटनामा परेको हो।

जहाज ललितपुरको कोटडाँडामा काठमाडौंको धावनमार्गबाट करीब ५ नटिकल माइलको दूरीमा दुर्घटनाग्रस्त भएको थियो।

माउन्टेन फ्लाइटमा गएको उक्त जहाजमा चालकदल सहित ६ जना नेपालीहरु, दशजना भारतीय र तीन जना पनि अरु देशका नागरिक रहेको जनाइएको छ।

छानविन

जीवितै फेला परेका एकजना नेपालीको पनि अस्पतालमा लग्दालग्दै निधन भएको थियो।

काठमाडौं विमानस्थलबाट केहि किलोमीटरको दूरीमा आइतबार बिहान भएको विमान दुर्घटनाको छानविन गर्न सरकारले नागरिक उड्डयन प्राधिकरणका भूतपूर्व महानिर्देशक राजेशराज दलीको संयोजकत्वमा समिति बनाएको छ।

दुर्घटना मानवीय कारणले भएको हुन सक्ने हवाइ उडानका कतिपय जानकारहरुले बताए।

असावधानी

नेपाल वायु सेवा निगमका बरिष्ठ पाइलट के बी लिम्बुले भने, “हाम्रो जस्तो भूगोल भएको ठाउँमा हरेक बादल एउटा पहाड जस्तै हुन्छ। आँखाले हेरेर प्लेन चढाउने नियममा गइसकेपछि त्यसरी बादलभित्र छिर्नै हुन्नथ्यो। त्यो त पुरै मानवीय असावधानी हो।”

बुद्ध एअरको एक दशक भन्दा लामो उडान इतिहासमा पहिलोपटक दुर्घटना भएको छ।

जहाजको ब्ल्याक बक्स फेला परिसकेको बताइएको छ।

काठमाडौं नजिकैका भट्टेडाँडा, घ्यांङफेदि, घुन्सा हुँदै अहिले कोटडाँडामा भएका दुर्घटनाहरुमा विमान चालकहरुको नियन्त्रणमा हुँदाहुँदै सानो असावधानीले दुर्घटनामा परेको बताइन्छ।

दुर्घटना भएपनि र हरेक दुर्घटना पछि परम्परागत रुपमै छानबीन समिति बनाइएपनि तिनको प्रतिवेदन कार्यान्वयनमा नल्याइएको भनि आलोचना हुने गरेको छ।