सहमतिविना ४५ दिनमा पुनर्वर्गीकरण गर्न सकिन्न: प्रम

  • 26 सेप्टेम्बर 2011
माओवादी नेताहरु बाबुराम भट्टराई, अध्यक्ष प्रचण्ड तथा मोहन वैद्य
Image caption प्रधानमन्त्री भट्टराईले आफ्नो सरकार राष्ट्रघाती भएको भन्ने आरोपको खण्डन गरे

प्रधानमन्त्री बाबुराम भट्टराईले राजनीतिक दलहरुबीच न्यूनतम सहमति नभई ४५ दिनभित्र समायोजन र पुनर्स्थापनामा जान चाहने माओवादी लडाकूहरुको पुनर्वर्गीकरण सम्पन्न गर्न नसकिने बताएका छन्।

उनको यो भनाइ आफ्नै दलका अध्यक्षको भनाइसंग फरक छ।

खासगरी विपक्षी दलहरु नेपाली कांग्रेस तथा नेकपा एमालेसंग सहमति नभएपनि माओवादी एक्लैले शान्ति प्रक्रियालाई अघि बढाउने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताइ आएका थिए।

तर सोमबार प्रधानमन्त्रीले सो काम एक्लै गर्न नसक्ने प्रष्ट संकेत गरे।

‘भ्रम’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार बिहान काठमाण्डौं आइपुग्ने बित्तिकै प्रधानमन्त्री भट्टराईलाई पत्रकारहरुले उनले नै तोकेको भनिएको ४५ दिने समयसीमाबारे प्रश्न गरेका थिए।

“सेना समायोजनको विषयमा न्यूनतम सहमति भएपछि त्यसलाई कार्यान्वयन गर्न ४५ दिन लाग्छ भनिएको हो। मैले ४५ दिनमै एक्लै गर्छु भनेको होइन। त्यसकारण यसमा भ्रम हुनु भएन। किनकि कैयौं विषयमा सहमति हुन बाँकी छ। सहमति भएपछि पुनर्वर्गीकरण गरी समायोजनमा जाने र पुनर्स्थापनामा जानेहरुलाई छुट्याउने कामचाहिं ४५ दिनमा सकिन्छ भनिएको हो,” उनले भने।

विशेषगरी सेना समायोजन गर्दा आवश्यक तह निर्धारण, दर्जा मिलान तथा पुनर्स्थापना तथा स्वैच्छिक अवकाशका प्याकेजहरुबारे सहमति हुन बाँकी छ।

फरक भनाई

प्रधानमन्त्रीको सोमबारको भनाई केही समययता उनकै पार्टिका अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा बोलेको भन्दा फरक सुनिन्छ।

अध्यक्ष प्रचण्डले सके अन्य दलसंग सहमति गर्ने नसके एक्लै भएपनि शान्ति प्रक्रियालाई अघि बढाइने भन्दै आएका छन्।

के अब माओवादीले एकलौटी रुपमा भएपनि लचकपना प्रदर्शन गर्ने भन्ने कुरा विवादमा परेको हो?

यसबारे प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, “त्यस्तो विवादमा परेको होइन। यो बारेमा अहिले दुवै जना नेताहरुको समान धारणा छ। सम्भव भएसम्म सबैलाई लिएर, होइन भने जो जो आउँछन् उनीहरुलाई समेटेर अगाडि बढ्नुपर्छ भन्नेमा दुवैको समान दृष्टिकोण छ।”

पौडेलका अनुसार मंगलबार प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै जनाले सरकार, पार्टी तथा सरकारमा सहभागी दलहरुको तर्फबाट शान्ति प्रक्रियाबारे ठोस पहल अघि बढाउनेछन्।

एक्लै अघि बढ्न पार्टीभित्रैबाट उपाध्यक्ष मोहन वैद्य पक्षधरहरुको अडानका कारण अप्ठेरो हुने देखिएपछि प्रधानमन्त्रीको पछिल्लो भनाई आएको ठान्नेहरु धेरै छन्।

तर सोमबार पत्रकारहरुसंगको कुराकानीमा प्रधानमन्त्री भट्टराईले वैद्य पक्षधरहरुले लगाएको एउटा आरोपको चाहिं कडा खण्डन गरे।

सरकार बन्दा तराईकेन्द्रित दलहरुसंग गरिएको चार बुँदे सहमति राष्ट्रघाती भएको उनीहरुको आरोपलाई भट्टराईले ठाडै अस्वीकार गरे।