‘शान्ति प्रक्रिया अघि बढाउन दशैंभर वार्ताहरु हुने'

  • 28 सेप्टेम्बर 2011
माओवादी नेताहरु
Image caption माओवादी भित्रको विवाद प्रमुख दलहरुबीचको सहमतिको वाधक बन्न सक्ने चिन्ता कायमै छ

प्रमुख सत्ताधारी दल एकीकृत माओवादी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच शान्ति प्रक्रियामा देखिएका गतिरोधहरु तोड्न दशैं अवधिभर छलफल जारी राख्ने सहमति भएको छ।

बुधबार साँझ सम्पन्न दुई दलीय बैठकमा माओवादी पूर्व लडाकुहरुको पुन:वर्गीकरणको काम अघि बढाउन दशैंभित्रमा प्रमुख दलहरुबीच सहमति जुटाउने समझदारी भएको नेताहरुले बताएका छन्।

बाबुराम भट्टराई प्रधानमन्त्री चुनिएको एक महिना बितीसक्दा पनि शान्ति प्रक्रियामा उल्लेखनीय प्रगति हुन नसकेर शान्ति प्रक्रिया लगभग ठप्प देखिएको बेला दुई प्रमुख दलका नेताहरुबीच छलफल भएको हो।

प्रधानमन्त्री निवासमा भएको माओवादी र कांग्रेसका नेताहरुबीचको छलफलले केही आशाको संचार गरेको सो बैठकमा सहभागी कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए।

‘प्याकेज’

उनका अनुसार अवरुद्ध बन्न पुगेको शान्ति प्रक्रिया अघि बढाउन प्रमुख दलहरुबीच प्याकेजमै सहमति गर्ने बारेमा छलफल भएको थियो।

“दुई दल, तीन दल, सबै सँग घनिभूत रुपमा छलफल गरेर तीन चार दिन भित्रै प्याकेजमै सहमति गर्ने कुरा भएको छ।”

पौडेलका अनुसार माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दलभित्रको विवाद मिलाउने आश्वासन दिएका थिए।

“उहाँले आश्वासन दिएपनि हामी पुरै आशावादी छैनौं।”

भट्टराई प्रधानमन्त्री निर्वाचित हुनु अघि माओवादी र संयुक्त मधेसी लोकतान्त्रिक मोर्चासँग भएको चार बुँदे सहमति र माओवादी हतियारका कन्टेनरहरुको साँचो विशेष समितिलाई बुझाउने माओवादीको संस्थापन पक्षको निर्णयको उपाध्यक्ष मोहन वैद्य पक्षले तीव्र विरोध गरिरहेको छ।

बुधबार साँझको दुई पक्षीय बैठकमा सहभागी माओवादी नेता जनार्दन शर्मा पनि दशैंभित्रमा प्रमुख दलहरुबीच सहमति बन्नेमा आशावादी सुनिए।

असहमति

“पार्टी भित्रको असहमतिले सहमति बनाउन कुनै बाधा पुग्दैन,” उनले भने।

तर माओवादी दल भित्र चर्किएको विवाद त्यस्तो सहमतिको वाधक बन्न सक्ने चिन्ता धेरैको छ।

आउने शुक्रबारका लागि बोलाइएको माओवादीको केन्द्रिय समितिको बैठकले साँचो हस्तान्तरण लगायतका विवादहरु समाधान गर्ने अपेक्षा गरिएको थियो।

तर दशैं आएको भन्दै सो बैठक स्थगित गरिएको छ।

त्यसैले माओवादीभित्रको किचलोले शान्ति र संविधान निर्माणबारेका गतिरोध हल गर्ने ठूला नेताहरुको योजनालाई प्रभावित पार्न सक्ने चिन्ताहरु हटिसकेका छैनन्।