माओवादी, कांग्रेसबीच विश्वासको वातावरण बनेको छ:सिटौला

  • 1 अक्टोबर 2011
maoist leaders
Image caption माओवादी, कांग्रेस वार्तामा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराई संलग्न छन्

प्रमुख सत्तारुढ घटक एकीकृत माओवादी र प्रमुख विपक्षी नेपाली कांग्रेसबीच अहिले विश्वासको वातावरण बन्दै गएको एकजना प्रमुख नेताले बताएका छन्।

एकले अर्कालाई शान्ति प्रक्रिया र संविधान लेखनका लागि सबभन्दा ठूलो बाधक भन्ने चर्को आरोप लगाउँदै आएका दलहरु माओवादी र कांग्रेसबीच तीब्र रुपमा अनौपचारिक छलफल भइरहेको कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले बताएका छन्।

उक्त छलफलको आधारमा दशैं लगत्तै शान्ति प्रक्रियाबारे ठोस खाका बाहिर आउने अपेक्षा राखिएको उनले बताएका छन्।

आलोचना

पैँतालिस दिनमा शान्ति प्रक्रिया टुंग्याउने सार्वजनिक वाचा गर्दै प्रधानमन्त्री बनेका बाबुराम भट्टराईको सरकारले शनिबार पैँतिस दिन पुरा गरेपनि शान्ति प्रक्रिया ठप्प रहेकोमा बाहिर आलोचना बढ्दै गएको छ।

तर भित्रभित्रै शान्ति प्रक्रियाका प्रमुख दुइपक्षबीच छलफल र सम्पर्क ह्वात्तै बढेको बताइएको छ।

उनीहरुबीच सहमति बनिसकेको नभए पनि आशावादी हुन सकिने छनक कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले दिएका छन्।

सिलसिला

सिटौलाले भने, "विषय प्रवेश भएपनि सहमति बनिसकेको छैन। तर विश्वासको वातावरण बनेको छ अहिले। माओवादी कांग्रेस, माओवादी एमाले, कांग्रेस एमाले र मधेशी दलहरुसँग कुराकानी गर्ने सहमति भएको छ।"

संयुक्त राष्ट्र संघको महासभाबाट फर्किए लगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस सभापति सुशील कोइरालालाई भेटेपछि शुरु भएको छलफलको सिलसिला माओवादी कांग्रेसका शीर्ष नेताहरु हुँदै विशेष समितिका सदस्यबीच समेत सम्पन्न भइसकेको छ।

छलफलमा प्रत्यक्ष सहभागी नरहे पनि अर्को मुख्य दल एमाले पनि सम्पर्कमा रहेको सिटौलाले बताएका छन्।

मूल विषय

सिटौलाका अनुसार शान्ति प्रक्रिया नटुंग्याइ संविधान लेखन लगायतका कुराहरु अगाडि नबढ्ने भएकाले अहिले शान्ति प्रक्रिया टुंग्याउनु मूल विषय भएको सबैले मानेका छन्।

फुलपातीदेखि दशैंको चारदिन आफुहरुबीच छलफल नचले पनि त्यस लगत्तै काम गरेर कुरा टुंग्याउने उनले बताए।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, दुवै पार्टीमा चलिरहेको चर्को आन्तरिक झगडाका बीच भइरहेको यो छलफल टुंगोमा पुगिहाल्ला भन्ने विश्वास गर्न भने धेरैले सकेका छैनन्।