शान्ति र संविधान निर्माणमा ढिलाइ नहोस् भन्ने राष्ट्रपतिको कामना

  • 6 अक्टोबर 2011
राष्ट्रपति रामवरण यादव
Image caption दशैं सन्देशमा राष्ट्रपतिले देशको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन्

महान चाड विजया दशमीको अवसरमा राष्ट‍्पति रामवरण यादवले शान्ति प्रक्रिया टुंग्याउने र संविधान निर्माणलाई पूर्णता दिने कामहरुमा थप ढिलाई नहोस् भन्ने कामना गरेका छन्।

आफ्नो सन्देशमा उनले राज्यका संस्था एवं संरचनाहरुहरु पुन:स्थापित गर्न सबैको ध्यान जानु पर्ने औंल्याएका छन्।

संविधान सभाको म्याद पटक पटक थप्दा पनि शान्ति र संविधान निर्माण कार्यले पूर्णता पाउन नसकेको बेला राष्ट्रपतिले त्यस्तो चिन्ता दोहोर्‍याएका हुन्।

बडा दशैंको मुख्य दिन विजया दशमीको अवसरमा मानिसहरु असत्यमाथि सत्यको जीत भएको पौराणिक प्रसंगको सम्झना गर्दै आफ्ना मान्यजनहरुबाट टिका तथा आशिस थाप्ने गर्छन्।

दु:ख कष्ट विर्सिएर आपसमा शुभकामना साटासाट गर्ने गर्छन्।

‘शुभाशिष दिऊन्’

राष्ट्रपतिले जस्तै उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेताहरु र पूर्वराजाले पनि बडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

ती शुभकामना सन्देशहरुमा देशमा शान्ति र संविधानको आवश्यकता झन् टड्कारो भएको प्रसंङ छुटेको छैन।

बिहिबार साँझ वरिष्ठ अधिकारीहरु र सर्वसाधारणहरुलाई टिका समेत लगाइ दिएका राष्ट‍्पति रामवरण यादवले आफ्नो सन्देशमा शान्ति प्रक्रियाको निरूपण र नयाँ संविधानको निर्माणमा भएको निरन्तरको ढिलाइका कारण सामाजिक र आर्थिक सम्बृद्धीतर्फ फड्को मार्ने नेपाली जनताको अभिलाषा अझै कुण्ठित अवस्थामै रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो सन्देशमा सबै नेपालीलाई शान्ति, आपसी सद्भाव र मेलमिलाप कायम राखी मुलुकलाई प्रगति पथमा लैजान विजया दशमीले प्रेरणा दिलाओस् भन्ने कामना गरेका छन्।

भेटघाट

प्रधानमन्त्री चुनिए देखि नै फरक उदाहरण प्रस्तुत गर्ने कोसिस गरिरहेका भट‍्टराईले आफ्ना पिताबाट टिका र जमरा ग्रहण गरेपछि पशुपतिनाथ मन्दिर परिसरमा रहेको बृद्धाश्रमको भ्रमण गरी त्यहाँ बस्ने बृद्ध बृद्धाहरुलाई उपहार दिएका थिए।

त्यसपछि प्रधानमन्त्रीले आफ्नी पत्नी एवं माओवादी नेतृ हिसिला यमी र केही सहयोगीका साथ माइती नेपालको भ्रमण गरेर बेचबिखनको शिकार भएका चेलीबेटीहरु र माइती नेपालमा आश्रित बालबालिकाहरुलाई भेटेका थिए।

चेलिबेटी बेचविखनविरुद्ध सरकारले कडा नीति ल्याउने प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले माइती नेपालको कार्यक्रममा पिङ समेत खेल्न भ्याएका थिए।