शान्ति र संविधान लेखन टुंग्याउन अध्यक्ष नेम्बाङको आग्रह

  • 8 अक्टोबर 2011
constituent assembly nepal
Image caption सबैदलसँग कुराकानी शुरु गर्न अध्यक्ष नेम्वाङले माओवादीलाई आग्रह गरेका छन्

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शान्ति र संविधान लेखनको काम टुंग्याउन प्रमुख दलहरुले तत्काल वार्ता थाल्नुपर्ने बताएका छन्।

संविधानसभाको सबैभन्दा ठूलो दलका एकीकृत माओवादीका अध्यक्ष र प्रधानमन्त्रीलाई शनिबार भेटेका अध्यक्ष नेम्वाङले शान्ति र संविधानबारे राजनीतिक दलहरुले भन्दै आएको दशैंपछिको ‘ब्रेकथ्रु’ व्यावहारिक रुपमै गर्न आग्रह गरे।

कहिले दशैं अघि त कहिले दशैं लगत्तै शान्ति र संविधानबारे ठोस प्रगति गर्ने भाका हाल्दै आएका दलहरुलाई झक्झक्याउन आफुले राजनीतिक परामर्श शुरु गरेको उनले बताए।

विशेष जिम्मेदारी

शान्ति प्रक्रिया र संविधान लेखनको काम टुंग्याउन माओवादीमा विशेष जिम्मेदारी रहेको अध्यक्ष नेम्वाङ बताउँछन्।

शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र साँझमा प्रधानमन्त्री बाबुराम भट्टराईलाई आफुले त्यहि कुरा संझाएको नेम्वाङले बताए।

उनले भने, "विवाद मिलाउने उपसमितिको संयोजक पनि तपाईं, लडाकु समायोजन गर्ने विशेष समितिका संयोजक पनि प्रधानमन्त्री त्यसले तपाइहरुले अरु दलसँगको कुराकानी अविलम्ब शुरु गर्नुपर्छ भनेँ।"

शनिबार र आइतबार माओवादी, कांग्रेस र एमालेका प्रमुख नेताहरुसँग भेटघाटको समय निश्चित गरिसकेका नेम्वाङले सबै नेताहरुसँग शान्ति र संविधान टुंग्याउन तत्काल सक्रिय हुन आग्रह गर्ने बताएका छन्।

आशावादी

तीन वर्ष भन्दा बढी समयदेखि दलहरु शान्ति र संविधान लेखन टुंग्याउँछु भनेर कुरा गरेका तर काम नगरिरहेका नेताहरुसँग अध्यक्ष नेम्वाङ यसपटक बढी आशावादी देखिन्छन्।

उनले भने, "पहिले भन्दा फरक यसपटक चाहिँ समय घर्किसकेकाले छिटो गर्नुपर्छ भन्ने दलहरुले महसुस गरेको पाएकाले म आशावादी छु।"

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, अध्यक्ष नेम्वाङ आशावादी देखिए पनि संविधानसभाको पटक पटक म्याद थप्ने बेलामा होस् या सरकार निर्माण गर्ने बेला, प्रगतिको बारम्बार भाका हालेर पुरा नगरेका दलहरुले तत्काल ठोस प्रगति गर्नेमा भने धेरैले शंका गर्छन्।

शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री आफैले तोकेको ४५ दिने समय सीमा सकिन तीन दिनमात्र बाँकी छ।