विपक्षी दलहरुले माओवादी समक्ष समान धारणा राख्ने

  • 11 अक्टोबर 2011
तीन दलका शीर्ष नेताहरु तस्वीर कपीराइट BBC World Service
Image caption दलका नेताहरुले यही साताभित्र समाधान निस्कने बताएका छन्

विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले पहिले शान्ति प्रक्रियाको मूलभूत विषयहरु टुंग्याउँदै संविधान निर्माण तर्फ लाग्ने समान धारणा माओवादीसंग हुने आगामी बैठकमा राख्ने ती दलका नेताहरुले बताएका छन्।

दुई दलबीच मंगलबार भएको बैठकले उक्त निर्णय गरेको हो।

निचोड

माओवादीसंग सोमबार गरिएको छलफलपछि मंगलबार प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले नेकपा एमालेका नेताहरुसंग भेटेका थिए।

सो भेटपछि ती दलका नेताहरुले अब आफुहरु समान धारणा लिएर माओवादीसंग गम्भीर छलफल गर्ने निचोडमा पुगेको बताए।

एमालेका महासचिव ईश्वर पोखरेलले भने, “शान्ति प्रक्रिया टुंग्याउने सन्दर्भमा एमाले र कांग्रेसबीच जुन समान धारणा छ, त्यसलाई औपचारिक रुपमा माओवादी समक्ष राख्ने छौं।”

समान धारणामा खासगरी सेना समायोजनका विवादित विषयहरु जस्तै समायोजनको खाका, संख्या, दर्जा मिलान, पुनर्स्थापना प्याकेज एकैचोटि समाधान गरिनुपर्ने रहेको दुई दलका नेताहरुको भनाई छ।

केही समय अगाडीसम्म माओवादीले पहिले लडाकूहरुको पुनर्वर्गीकरण गरेर सुरक्षा अंगमा जाने र पुनस्थापनामा जानेहरु छुट्ट्याउने अनि बाँकि विवादहरु विस्तारै मिलाउने प्रस्ताव गरेको थियो।

त्यसलाई खासगरी कांग्रेसले अस्वीकार गरेको थियो।

सोमबार माओवादी नेताहरुसंग भएको भेटपछि चाहीं अब यो विषयको विवाद सल्टिने आशा कांग्रेस नेताहरुमा पलाएको छ।

“विगतमा माओवादीकै कारण यी कुराहरु अड्किएका थिए। अब उनीहरुले प्याकेजमै सहमति जनाउन लचकपना देखाएको हुनाले समाधानको नयाँ आशा जागेको छ,” नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भने।

एमाले र कांग्रेसका नेताहरुका अनुसार माओवादीले प्याकेजमा सहमति गर्न राजी भए अबको एक साताभित्र ठोस निश्कर्ष निस्कन सक्छ।

तर माओवादीभित्रै यी विषयहरु अझै विवादित भएका हुनाले ठोकुवा गर्न चाहीं नसकिने कतिपय विश्लेषकहरुको भनाई छ।