रक्षामन्त्रीको राजीनामा माग्दै विपक्षीद्वारा फेरी संसद अवरुद्ध

  • 17 अक्टोबर 2011
संसद भवन
Image caption विपक्षीहरुको अवरोधका कारण तेश्रो पटक सोमवार पनि संसद बैठक हुन सकेन

एउटा हत्या प्रकरणमा मुछिएका माओवादी नेता तथा मन्त्री प्रभु साहले राजीनामा दिए पनि विपक्षी दलहरुले व्यवस्थापिका संसदको नियमित बैठक तेश्रो दिन समेत चल्न दिएनन्।

'तराई टुक्रिन सक्ने अभिव्यक्ति दिएका' भनिएका रक्षामन्त्री शरत सिंह भण्डारीको राजीनामा र विवादित विषयमा प्रधानमन्त्रीको धारणा माग्दै उनीहरुले संसद बैठक अवरुद्ध पारेका हुन्।

तर राजिनामा मागबारे छलफल गर्न घण्टौं बसेको रक्षामन्त्रीको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठक मंगलवार फेरी बस्ने गरी कुनै निर्णय नगरी सकिएको छ।

तराईकै

संसदमा वैठक शुरु हुने वित्तिकै दुई मुख्य विपक्षी दलले रक्षामन्त्रीको अभिव्यक्तिको विरोध तथा उनको राजीनामा माग्न तराईकै दुईजना सांसदलाई अघि सारेका थिए।

सुदूरपश्चिमको कैलालीबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद रमेश लेखकले भने, "सरकारको मन्त्रीले देशको २२ जिल्ला टुक्रिन सक्छ भनेर राष्ट्रप्रति वफादार र राष्ट्रियताको भावनाले ओतप्रोत त्यहाँका जनताको अपमान गर्नु भएको छ, त्यसैले उहाँले राजीनामा दिनुपर्छ।"

मध्य तराईको धनुषाबाट प्रतिनिधित्व अर्को विपक्ष एमालेका नेता रघुवीर महासेठले मधेसी जनता अरु भागका नेपाली जस्तै राष्ट्रवादी भएको उल्लेख गर्दै रक्षामन्त्रीको चर्को आलोचना गरेका थिए।

महासेठले 'मधेसी जनताको भावनामा चोट पुर्‍याउने मन्त्रीलाई नहटाए प्रधानमन्त्रीलाई विखण्डनकारीका प्रधानमन्त्रीको रुपमा चित्रित गर्ने' चेतावनी दिए।

उनको भनाई थियो, "देशको राष्ट्रियताको रक्षा गर्ने सपथ खाएका मन्त्रीले राष्ट्रको रक्षाको बदला, देश टुक्र्याएर अलग देश बनाउन खोज्नु भएको छ, मधेसी जनता अखण्ड नेपाल चाहन्छन्, विखण्डित नेपाल हैन।"

माग

विपक्षीहरुले भूमिसुधार मन्त्रीबाट राजीनामा दिएका प्रभु साहलाई अनुसन्धानको दायरामा ल्याउन समेत आवाज उठाए।

हत्या प्रकरणमा उनलाई जोगाउन पिडितलाई आठ लाख रुपियाँ दिएको आरोप लागेका मन्त्रालयका एकजना सहसचिवलाई निलम्बन गरी छानवीन गर्नु पर्ने पनि उनीहरुको माग थियो।

ती विषयहरुमा प्रधानमन्त्रीको जवाफ माग्दै कांग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले संसदको कारवाही रोक्न आग्रह गरेपछि साना-ठूला विपक्षी दलका सांसद उभिएका थिए।

त्यसपछि सभामुखले मंगलवारसम्मका लागि बैठक स्थगित गर्नु परेको थियो।

रक्षामन्त्रीले आफ्नो आशयलाई वंग्याइएको भन्दै राष्ट्रियता र राष्ट्रिय एकताप्रतिको आफ्नो दृढता एवं विश्वासमाथि शंका नगर्न आग्रह गरिसकेका छन्।