विवादमा मुछिएका एक मन्त्रीको राजीनामा, फोरम अनिर्णित

  • 16 अक्टोबर 2011
Image caption दुईजना मन्त्रीको राजीनामाको मागमा आइतबार पनि संसद अवरुद्ध भयो

विवादमा मुछिएका दुई मन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नदिने रणनीतिमा रहेका प्रतिपक्षीहरुको माग बमोजिम भूमिसुधार तथा व्यवस्था मन्त्री प्रभु शाहले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

एकीकृत माओवादीले आइतबारै उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

राजीनामा मागिएका रक्षा मन्त्री शरतसिंह भण्डारीबारे मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले सोमबार निर्णय गर्ने बताएको छ।

हिन्दु युवा संघका काशी तिवारीको हत्याको आरोप लागेका साहको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र एमालेले आइतबार पनि संसद अवरुद्ध पारेका थिए।

फिर्ता

केही समय अघि प्रभु शाहको बचाउ गर्ने निर्णय माओवादी संसदीय बोर्डले गरेको भएपनि प्रधानमन्त्री बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सक्रियतामा प्रभु शाहलाई फिर्ता बोलाउने निर्णय गरिएको थियो।

माओवादी सचिव सी पी गजुरेलले भने, "मन्त्री पदमा बसिरहँदा साहजीमाथि अनुसन्धान प्रभावित हुने भयो भन्ने कुरा आयो। हामी पदाधिकारीहरुको एकप्रकारको सहमतिमै त्यो निर्णय लिइएको हो।"

एउटा सार्वजनिक कार्यक्रममा तराइका २२ जिल्ला छुट्टिन सक्ने चेतावनी दिएपछि विवादमा मुछिएका रक्षा मन्त्रीको राजीनामा बारे भने फोरम लोकतान्त्रिकले सोमबार बिहान निर्णय लिने प्रवक्ता जीतेन्द्र देवले बताए।

दवाव

उनले भने, "गठबन्धन जोगाउन, शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन र प्रतिपक्षीको यही गठबन्धनमा हुन सक्ने सहभागितालाई हेर्दै हामी भोली निर्णय गर्नेछौं।"

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, शान्ति प्रक्रिया टुंग्याउने, संविधानको पहिलो मस्यौदा तयार पार्ने र भित्रभित्रै शक्ति बाँडफाँडका बारेमा सबै दलहरुबीच विश्वासको वातावरण बन्दै गइरहेको भनिएका बेला ठूला प्रतिपक्षको माग प्रमुख सत्तारुढ दलले स्वीकार गरेपछि अर्को सत्तारुढ घटक मधेशी मोर्चालाई पनि दवाव पर्ने ठानिएको छ।