लिबियाका मुअम्मर गद्दाफी मारिए

  • 20 अक्टोबर 2011
लिबियाको भूतपूर्व नेता मुअम्मर गद्दाफी तस्वीर कपीराइट Reuters
Image caption टेलिभिजहरुले गद्दाफी जस्तो देखिने व्यक्तिको शवको तस्वीर देखाइरहेकाछन्

लिबीयाका प्रधानमन्त्री मेहमुद जीब्रिलले देशका भूतपूर्व नेता मुअम्मर गद्दाफी मारिएका घोषणा गरेका छन्।

संक्रमणकालीन प्रशासनका अधिकारीहरुले कनल गद्दाफी उनको गृहनगर सिर्तमा भएको युद्धमा घाइते भएका बताएका छन्।

टेलिभिजन च्यानलहरुले कनल गद्दाफी जस्तो देखिने व्यक्तिको शवको भिडियो प्रसारण गरिरहेका छन्, जु्न रक्ताम्य र नराम्ररी चोट पटक लागेको देखिन्छ। हमला

नेटोले सिर्त शहरस्थित विभिन्न निशानाहरुमा विहीबार विहान हवाई हमलाहरु गरेको थियो।

लिबियाको अन्तरिम प्रशासनप्रति बफादार एकजना लडाकुले आफूले कनल गद्दाफीलाई एउटा दुलोमा लुकिरहेको फेला पारेको र उनले आफूलाई गोली प्रहार नगर्न अनुरोध गरेका बीबीसीलाई बताएका थिए।

ति लडाकुले कनल गद्दाफीबाट लुटेको भनेर एउटा सुनौलो पेस्तोल देखाएका थिए।

प्रतिक्रिया

कलन गद्दाफीको मृत्युको घोषणा प्रति ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरन पनि प्रतिक्रिया दि‌एका छन्। उनले भनेका, “आजको दिन मुअम्मर गद्दाफीको क्रुर शासनको हातबाट मारिएकाहरुलाई सम्झने दिन हो।“

युरोपेली संघ, ईयु का नेताहरुले भनेका छन् मुअम्मर गद्दाफीको मृत्युले लिबियाली जनताका लागि तानशाही र दमनको एउटा युगको अन्त्य गराएको छ।

ईयु का अध्यक्ष हर्मन भन रम्पोइ र युरोपेली आयोगका अध्यक्ष होसे म्यानुएल बार्रोस्सोले लिबियाको राष्ट्रिय संक्रमणकालिन परिषदलाई मेलमिलापको नीति अंगीकार गरी एउटा प्रजातान्त्रीक, शान्तिपूर्ण र पारदर्शी संक्रमणकालका निम्ति आह्वान गरेका छन्।

संयुक्त राज्य अमेरिकामा, रिपब्लीकन सिनेटर जन मक्केनले कनल गद्दाफीको मृत्युलाई लिबियाली क्रान्तिको पहिलो चरणको अन्त्य भनेका छन्।

सिर्त

तस्वीर कपीराइट BBC World Service
Image caption सिर्त शहर कब्जामा लिएपछि लडाकूहरुले खुशीयाली मनाएका थिए।

नयाँ लिबियाको लागी विहीबारको दिन अभुतपूर्व बन्न पुगेको छ। मुअम्मर गद्दाफीलाई सत्ताच्यूत गरी ट्रिपोली बिरोधीहरुको हातमा परेको दुई महिना पछि गद्दाफीको गृह नगर सिर्त राष्ट्रिय संक्रमणकालिन परिषद प्रति बफादार सैन्यको हातमा परेको छ।

लिबियाका प्रमुख शहरहरुमा खुशीयाली मनाइँदैछ। सिर्तमाथि कब्जा जमाउन र गद्दाफीलाई फेला पार्न उनका बिरोधीहरुले भारी मूल्य चुकाउनु परेको छ।

कनल मुअमर गद्दाफी जस्तो ब्यक्तिको पूर्ण परिचय कसरी दिन सजीलो छैन। चार दशक लामो आफ्नो नेतृत्वकालमा उनी विश्वमञ्चमा यसरी प्रस्तुत भए कि उनलाई दिइने सन्काहा र बौलाहाको विशेषण पनि उनको ब्यक्तित्वलाई चिनाउन पर्याप्त छैन।

उनको जीवनकालमा उनी क्रान्तिकारी नेताबाट अन्तराष्ट्रीय अछुतमा परिणत भए अनि रणनीतिक साझेदार बने र फेरी अछुत नै ठानिए। र अन्त्यमा उनको दयनीय निधन भएको छ।