नेपाल र भारतबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

  • 21 अक्टोबर 2011
बाबुराम भट्टाराई तस्वीर कपीराइट Getty
Image caption बाबुराम भट्टराईले भारतमा द्विपक्षीय हित र भारतिय सहयोगका बारे कुराकानी गरेका थिए

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बाबुराम भट्टराई र उनका भारतीय समकक्षी मनमोहन सिंहबीच शुक्रबार नेपाल भारत सहयोग र द्विपक्षीय सहयोगका विषयका महत्वपूर्ण कुराकानी भएको छ।

दुई प्रधानमन्त्री बीच द्विपक्षीय हित र सहयोग सम्वन्धी कुराकानी संगै दुबै पक्षका उच्च अधिकारीहरुबीच पनि आपसी सहयोगका विषयमा महत्वपूर्ण छलफल भएका थिए।

सांझ अवेरसम्म चलेको वार्ता भएपनि दुबै देशबीच आर्थिक सहयोगमा टेवा पुग्ने तीन महत्वपूर्ण संम्झौतामा हस्ताक्षर हुने कार्यक्रम थियो।

तर अन्त्यमा दुई वटा सम्झौतामा मात्र सहमति भएको अधिकारीहरुले बताएका छन्।

सम्झौताहरु

ती हुन् नेपाललाई भारतले सस्तो ऋण उपलब्ध गराउने र द्विपक्षीय लगानी प्रवर्द्धन एवं संरक्षण सम्वन्धी सम्झौता।

दोहोरो कर हटाउनेबारेको सम्झौतामा कुरा नमिलेपछि हस्ताक्षर हुन सकेन।

नयाँ सम्झौता अनुसार नेपाललाई २५ करोड डलर बराबरको सस्तो ऋणको व्यवस्था हुनेछ।

सो ऋण नेपालमा महत्वप‍ूर्ण पूर्वाधारहरुको विकासका साथै विशेष आर्थिक क्षेत्रको विकासमा खर्च गरिने बताइएको छ।

द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौताले व्यापारीहरुको लगानी सुरक्षित र संरक्षित पार्नमा मद्दत पुर्‍‍याउने अपेक्षा छ।

क्षतिपूर्ती

सो सम्झौताले हड्ताल एवं दंगाका कारण नेपालमा ठूलो आर्थिक क्षति व्यहोर्ने भारतीय लगानीकर्ताहरुले नेपालबाट क्षतिपूर्ती पाउने प्रावधान रहेको छ।

उच्चस्तरिय छलफलहरुमा नेपाली पक्षले शान्ति प्रक्रिया र संविधान लेखन तथा नेपालको पूर्वाधार विकासमा भारतीय सहयोग र नेपालमा भारतीय लगानी बढाउने विषयलाई मुख्य रुपमा उठाएको थियो।

भारतले चाँही आतंकवाद नियन्त्रण, जाली नोटको कारोबार नियन्त्रण, सुपुर्दगी सन्धीमा हस्ताक्षर, भारतीय विमानहरुमा स्काइ मार्सल राख्ने र सीमा नक्सामा हस्ताक्षर गर्ने जस्ता विषयहरुलाई उठाएको बुझिएको छ।

अत्यन्त व्यस्त दिनमा प्रधानमन्त्री भट्टराईले भारतीय राष्ट्रपति प्रतिभा पाटिल, उपराष्ट्रपति हमिद अन्सारीसंग भेट गरेका थिए।

प्रधानमन्त्रीलाई भेट्न भारतीय विदेश मन्त्री एसएम कृष्णा, अर्थ मन्त्री प्रणव मुखर्जी र विपक्षी दलकी नेतृ सुष्मा स्वराज उनी बसेको होटलमा पुगेका थिए।

आफ्नो चार दिने भ्रमण पुरा गरि प्रधानमन्त्री आइतबार स्वदेश फिर्ने कार्यक्रम छ।