वीपा संझौता प्रक्रिया रहस्यमय भएको आरोप

  • 22 अक्टोबर 2011
तस्वीर कपीराइट Reuters
Image caption प्रधानमन्त्री भट्टराईले गरेको विपा संझौताले नेपालमा विवाद र बहस निम्त्याएको छ

प्रधानमन्त्री बाबुराम भट्टराईले दिल्लीमा भारतसँग शुक्रबार गरेको लगानी प्रबर्द्धन तथा सुरक्षण सम्झौता (बिपा) प्रति काठमाडौंमा मिश्रित प्रतिक्रिया देखिएको छ।

संझौता, आर्थिक क्षेत्रमा आवश्यक फडको भएको अर्थशास्त्रीहरुले बताएपनि राजनीतिक क्षेत्रमा त्यसले विवाद र बहस शुरु गरेको छ।

भारतसँग रहेको अर्बौंको व्यापार घाटा कम गर्न, देशमा रोजगारी बढाउन लगायतका फाइदा त्यस्ता दुइपक्षीय संझौताले गर्ने कतिपयको भनाइ छ।

तर पारस्परिक सहयोगको संझौता गर्नु अघि देशभित्र आन्तरिक छलफल नगरीनुलाई उनीहरुले आपत्तिजनक ठानेका छन्।

आशा

दश वर्षदेखि थाँती रहँदै आएको बीपा संझौताले अहिले नै नेपालमा सबभन्दा ठूलो लगानीकर्ता रहेको भारतबाट थप सहयोग पाउन सकिने कतिपयको भनाइ छ।

अर्थशास्त्री चिरन्जीवी नेपाल संझौताले भारतीय लगानी बढाउने आशा राख्छन्।

उनी भन्छन्, "संसारको उदियमान अर्थतन्त्र, दिन दुना रात चौगुना प्रगति गरिरहेको देश र संसारका केहि धनी मानिसहरु बस्ने देशको अलिकति मात्र लगानी आकर्षित गर्न सके पनि देशलै ठूलै फाइदा पाउन सक्छ"

संझौता खासगरी माओवादी कार्यकर्ताहरुकै कारण विभिन्न कम्पनी बन्द हुँदा उठेको सुरक्षाको प्रश्नलाई जवाफ भएको अर्थशास्त्री केशब आचार्यको बुझाइ छ।

आपत्ति

उनी भन्छन्, "सूर्य नेपाल जीएमआर मनिपाल जस्ता भारतीय लगानीका कम्पनीहरुमा समस्या आउँदा उनीहरुले सुरक्षाको प्रश्न उठाए, सुरक्षा दिएर लगानी आउँछ भने त्यसले राजश्व बढाउँछ, आयात घटाउँछ, निर्यात बढाउँछ, रोजगारी बढाउँछ।"

प्रधानमन्त्रीले भ्रमणमा निस्कँदा कुनै संझौता नर्गने भनेको संझाउँदै एमाले सभासद तथा अर्थशास्त्री विजय पौडेलले दिल्लीमा अचानक संझौता गरिनुलाई आपत्तिजनक ठान्छन्।

पौडेल भन्छन्, "जतिसुकै महत्वपूर्ण संझौता भएपनि देशभित्रबाट एक प्रकारको सहमति गरेर मात्र उता संझौता गरिनुपर्‍थ्यो। रहस्यमय रुपमा अचानक संझौता गर्नु आपत्तिजनक छ।"

संझौताको पूर्ण पाठ सार्वजनिक भइसकेको छैन।

संझौताले भारतीय लगानीका लागि नेपालमा बाटो सजिलो बनाएपनि त्यसमा नेपालको भारतमा लगानीबारेको शर्त र कस्तो समस्या पर्दा कसरी क्षतिपूर्ति दिने भन्नेबारेको शर्त कस्तो छ भन्ने महत्वपूर्ण हुने अर्थशास्त्रीहरु बताउँछन्।