एकीकृत नेकपा माओवादीभित्रको विवाद लम्बियो

  • 25 अक्टोबर 2011
प्रम भट्टराई, अध्यक्ष प्रचण्ड तथा उपाध्यक्ष वैद्य
Image caption आन्तरीक कलह व्यवस्थापन गर्न पार्टि लगातार विफल भइरहेको देखिएको छ

पार्टिभित्रै तीव्र विवादको भूमरीमा परेपछि खासगरी भारतसंग गरिएको लगानी सुरक्षा सम्झौताबारे छलफल गर्ने भन्दै बसेको एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक विना निष्कर्ष टुंगिएको छ।

करीब चार घण्टा बसेको स्थायी समितिको बैठक विवाद समाधान गर्न विफल भएपछि पुन बुधबार बस्ने गरि स्थगित गरिएको नेताहरुले बताएका छन्।

अप्ठेरो

उक्त सम्झौतामा भएका खासगरी क्षतिपूर्ति सम्बन्धी प्रावधानहरुले देशलाई अनावश्यक आर्थिक बोझ बढाउने भन्दै माओवादी भित्र उपाध्यक्ष मोहन वैद्य किरण पक्षधरहरुले त्यसको चर्को विरोध गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराई अप्ठेरोमा परेका छन्।

माओवादी लडाकूका हतियार रहेका कन्टेनरका साँचो सरकार मातहतको विशेष समितिलाई बुझाउने प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारको निर्देशन पछि एकाएक विष्फोट भएको माओवादी आन्तरीक विवाद, चाडबाडपछि बस्ने केन्द्रिय समितिको बैठकले मिलाउने भनेपछि केही समय यता सेलाएको थियो।

तर, आइन्दा सार्वजनिक रुपमा गालीगलौजमा नउत्रने समेत निर्णय गरेको माओवादीभित्र, गतसाता प्रधानमन्त्री भट्टराईको भारत भ्रमणपछि भने सो कलह पुन बल्झिएको हो।

खासगरी द्विपक्षीय लगानी प्रबर्द्धन तथा सुरक्षण सम्झौता गरेकोमा आक्रोशित माओवादी भित्रको कडाधार मानिने उपाध्यक्ष वैद्य पक्षधरहरुले सार्वजनिक विरोध थालेपछि एवं उक्त पक्षधर केही नेताले प्रधानमन्त्री भट्टराई तथा अध्यक्ष प्रचण्ड विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएपछि मंगलबारको बैठक डाकिएको थियो।

तर सो बैठक विना निष्कर्ष सकियो।

बैठकपछि बीबीसीसंग बोल्दै माओवादी सचिव पोष्टबहादुर बोगटीले भने, “आज सबैबाट विषयवस्तुको उठान एवं चर्चा गर्ने काम भयो। कुनै निर्णय वा निश्कर्ष निस्किएन। त्यसैले बुधबार बिहान बैठक पुन बस्ने गरि आज स्थगित गरियो।”

वैद्य पक्षधरहरुको चर्को विरोधकै कारण प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार संसदमा बीपा भनिने उक्त सम्झौताबारे प्रष्ट्याउने प्रयास गरेका थिए।

बीपा सम्झौता भारतसंग जस्तै अन्य पाँच मुलुकसंग गरिसकेको र त्यसले विदेशी लगानी ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनले बताएका थिए।

उक्त सम्झौतामाथि विवाद चर्किएपछि स्थायि समिति बैठक बस्न अगावै, मंगलबार, प्रधानमन्त्री बाबुराम भट्टराईले अध्यक्ष प्रचण्डसंग समेत परामर्श गरेका थिए।