पुनवर्गीकरणका क्रममा देखिएका समस्या समाधान हुन्छन्: प्रचण्ड

  • 30 नोभेम्बर 2011
विशेष समितिका अधिकारीहरु र माओवादी लडाकुहरु तस्वीर कपीराइट dd
Image caption लडाकु पुनवर्गीकरणका क्रममा एक पछि अर्को जटिलताहरु थपिएका छन्

माओवादी अध्यक्ष प्रचण्डले लडाकुहरुको पुनर्वगीकरणका क्रममा देखिएकासबैखाले समस्याहरुको समाधान राजनीतिक दलहरु बीचको सहमतिमा निकालिने बताएका छन्।

अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई बुधबार विशेष समितिका सदस्यहरु संगै लडाकू शिविरहरुको भ्रमणमा गएका थिए।

नेपाली सेनामा समायोजन हुनेको संख्या थप घट हुन सक्ने संकेत दिंदै, उनीहरुले घाइते तथा अपांङ्ग लडाकुहरुको निम्ति प्याकेज ल्याउने आश्वासन दिए।

प्रचण्ड र भट्टराई संगै आएका विशेष समितिका सदस्यहरुले बुधबार तालबन्द शिविरमा जारी लडाकु पुनर्वगीकारण कार्यको अनुगमन गरेका थिए।

‘प्याकेज’

तालबन्द पुगेका प्रधानमन्त्री भट्टराईले संवाददाताहरुसंग कुरा गर्दै शिविरमा रहेका घाइते तथा अपाङ्गका लागि विशेष राहत कार्यक्रम ल्याउने बताए।

“घाइते आदीको निम्ति सरकारले विशेष प्याकेज ल्याउने भन्ने सहमति भएको छ, त्यो हामीले तयार गर्दै छौं।”

प्रचण्डले समायोजनको संख्या बढ्‍ने घट्‍ने सवालमा मात्र नभइ सबै डिभिजनमा देखिएका समस्या समाधान गर्न पुनवर्गीकरणपछि सहमतिको प्रयास हुने बताए।

“सबै तिरको हिसाव आइसकेपछि त्यस्लाई हेर्ने कुरा हुन्छ, हामी छलफल गर्छौं, एउटा निकास त निकाल्नै पर्छ।”

सातौं डिभिजनका केही घाइतेहरुले उपचार र पेन्सन, हालको शैक्षिक योग्यता मान्य हुनु पर्ने र समायोजनको संख्या बढाउनु पर्ने माग गर्दै आएका छन्।

छलफल

उनीहरुको माग प्रति एमाले महासचिव इश्वर पोखरेल र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं संचार मन्त्री जयप्रकाश प्रसाद गुप्ता सकारात्मक देखिए।

उब्जिएका सबै समस्याहरु बारे विशेष समितिको वैठकमा छलफल हुने उनीहरुको भनाइ थियो।

प्राविधिक कारणले ढिलाइ भइरहेपनि पुनवर्गीकरण कार्य सन्तोषजनक रुपमा भइरहेको भन्दै टोलीमा सहभगी सदस्यहरुले सन्तोष व्यक्त गरेका छन्‍।

सुर्खेत र तालबन्द बाहेक सबै डिभिजनमा पुनवर्गीकरण कार्य सकिएको छ।