नेपाल बन्दपछि कांग्रेस कार्यकर्ताको मुद्दा फिर्ता

  • 19 डिसेम्बर 2011
बन्दमा राजधानीको एक दृष्य तस्वीर कपीराइट Reuters
Image caption प्रत्येक बन्दका आयोजकले जनसमर्थन पाएको दावी गर्ने चलन छ

चितवन कारागारभित्र भएको सांघातिक आक्रमणमा मृत्य भएका कार्यकर्ता शिव पौडेल विरुद्धको हत्या अभियोग फिर्ता लिने सरकारी निर्णय लगत्तै कांग्रेसले बन्द फिर्ता लिएको छ।

थुनाभित्रै गम्भीर घाइते तुल्याइएका पौडेलको उपचारका क्रममा शनिवार भएको मृत्युबाट आक्रोशित कांग्रेसको क्रोध शान्त पार्न सरकारले यसअघि नै जाँचबुझ आयोग गठन गरेको थियो।

पुरा

आफ्नो अर्को माग उसले नेपाल बन्द मार्फत नै पुरा गराएको छ।

गृहमन्त्रालयका प्रवक्ता शंकरप्रसाद कोइरालाले भने, "मृत्यु भएका शिव पौडेलका साथै प्रमिश राई लगायतका व्यक्तिहरु उपर लगाइएको मुद्दा फिर्ता गर्ने प्रकृया शुरु भएको छ।"

मृतकलाई सहिद घोषणा गर्नु पर्ने अर्को मागबारे भने जाँचबुझ आयोगले दिने प्रतिवेदन अनुसार कारवाही अघि बढाउने निर्णय सरकारले लिएको छ।

गृहमन्त्रालयका अनुसार निजी र सरकारी मात्र नभई बन्दका क्रममा कतिपय ठाउँमा त एम्बुलेन्स र प्रेसका सवारी साधन पनि बन्दकर्ताको निशाना बनेका थिए।

तर हिंसाका ठूला घटना नभएको सरकारको भनाइ छ।

'शान्तिपूर्ण'

गृह मन्त्रालयका प्रवक्ता कोइरालाले भने, "दुईवटा गाडीमा आगो लगाइयो, अन्य केहीका सिसा फोडिए, तर ठूलो अप्रिय घटना भएन, बन्द सामान्यतया शान्तिपूर्ण रह्यो।"

आफूलाई प्रजातन्त्रको पर्याय ठान्ने पार्टीका निम्ति बन्द नसुहाउने भन्दै फिर्ता लिन उसमाथि परेको चौतर्फी दबाबको कांग्रेसले वास्ता गरेन।

त्यसको प्रत्यक्ष मारमा खासगरी सर्वसाधारण परेका थिए।

विगतमा अरुहरुले झैं कांग्रेसले यसपटकको बन्दमा व्यापक जनसमर्थन पाएको दावी गरेको छ।

तर कतिपयले त्यसलाई त्रासको परिणाम ठानेका छन्।

सम्भवत: त्यसकै कारण हुनसक्छ, यसअघिका बन्दमा भन्दा पनि सडकहरुमा सवारी साधन शून्य प्राय: देखिन्थे।