प्रचण्डको प्रस्तावप्रति बैद्यको असहमति

  • 24 डिसेम्बर 2011
Image caption केन्द्रीय समिति बैठकमा पेश प्रचण्डको प्रतिवेदनप्रति बैद्यले असहमति जनाएका छन्

शान्ति प्रक्रिया, संविधान लेखन र समसामयिक राजनीतिलाई प्रत्यक्ष असर पारिरहेको एकीकृत माओवादी पार्टीको अन्तरविरोधलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पेश गरेको राजनीतिक प्रतिवेदनले कम बनाउने देखिएको छैन।

शान्ति प्रक्रिया र संविधान लेखनमाथि प्रचण्डको कार्यशैली र विषयवस्तुमाथि गम्भीर असहमति दर्ज गराउँदै आएका उपाध्यक्ष मोहन बैद्यले प्रचण्डको प्रतिवेदनमा सहमत हुने ठाउँ नै नरहेको बताएका छन्।

लामो समयपछि छोटो अवधिका लागि शनिबार बसेको माओवादी केन्द्रीय समिति बैठकमा पेश गरिएको अध्यक्ष प्रचण्डको प्रतिवेदनप्रति पहिलेदेखि असन्तुष्ट रहँदै आएको उपाध्यक्ष मोहन बैद्य पक्षधर कत्तिपनि सहमत देखिन्न।

प्रचण्डको प्रतिवेदनमाथि सोमबार बस्ने केन्द्रीय समिति बैठकमा लिखित असहमति पेश गर्ने तयारी गरिरहेका बैद्यले भने, "अध्यक्ष प्रचण्डले हामीले उठाउँदै आएका विषयलाई जसरी संबोधन गर्न खोज्नुभो त्यससँग हामी सहमत हुन सक्दैनौं।"

माओवादी उपाध्यक्ष बाबुराम भट्टराईको सरकार बन्ने धरातल बने देखि नै तीव्र मतभेद प्रकट गर्दै आएका अर्का उपाध्यक्ष बैद्यले सरकार बने यता नै दर्जन भन्दा बढी लिखित असहमति पेश गरिसकेका छन्।

बैद्यले शान्ति प्रक्रिया कसरी टुंग्याउने, कसरी संविधान लेख्ने, १० वर्ष सम्म गरिएको 'जनयुद्धको' क्रान्तिकारी धार कसरी जोगाएर राख्ने लगायतका विषयमा अध्यक्षसँग प्रक्रियागत र बस्तुगत दुवैमा मतभेद रहेको बताएका छन्।

प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा शान्ति र संविधानको कार्यभार पुरा गर्नेदेखि, बाबुराम भट्टराईको मन्त्रीपरिषद पुनर्गठन गर्ने सम्म र संगठन सुदृढीकरणका लागि कार्यकर्ता परिचालनका विषय परेका छन्।

प्रचण्डले पार्टीमा देखिएको अन्तरविरोध महाधिवेशनमा पुगेर टुंग्याउने प्रस्ताव राखेको बताइएको छ।

माओवादी संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै चारमहिनादेखि नै क्रान्तिकारी धार छोड्न लागेको र जडसूत्रबादी बनेको आरोप प्रत्यरोप चल्दै आएको छ।

काठमाणडूस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, सरकार र पार्टी संस्थापनपक्ष विरुद्ध सडक र सदनमै बोलिरहेको र पार्टीभित्रै लिखित असहमति जनाइरहेको बैद्य पक्षधरको असन्तुष्टीको निकास ननिस्केसम्म शान्ति प्रक्रिया र संविधान लेखन ओझेलमा परिरहने छ।