संवैधानिक समितिको बैठक स्थगित

  • 25 डिसेम्बर 2011
संबैधानिक समिति बैठक स्थगित
Image caption उपलब्धिविहीन हुन थालेपछि संवैधानिक समितिको बैठक स्थगित गरिएको छ

संविधानको पहिलो मस्यौदा तयार पार्ने संवैधानिक समितिको बैठक एक साताका लागि स्थगित गरिएको छ।

अन्तर दलीय विवाद समाधान उपसमितिले सहमति गरिसकेका विषय पनि संवैधानिक समितिमा उल्टिन थालेपछि त्यसरी बैठक स्थगित गर्नुपरेको बताइएको छ।

खासगरी एकीकृत माओवादीमा देखिएको दुइ स्पष्ट धारले संविधान लेखन र शान्ति प्रक्रियामा प्रतिकुल असर परेको विपक्षीहरुको आरोप छ।

संविधानसभामा सबभन्दा ठूलो पार्टी एकीकृत माओवादीको सबभन्दा शक्तिशाली नेता भनेर चिनिँदै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको विवाद समाधान उपसमितिले विगतका कृयाकलापप्रति पनि जिम्मेवार बनाउन कानुन, सम्पत्तिमाथिको अधिकार संविधानमा अंकित नगर्नेदेखि संविधानमा जनयुद्ध कतातिर लेख्ने लगायतका विषयमा सहमति बनाएको थियो।

तर उनकै दलका असन्तुष्ट पक्षधर नेताहरुले सहमतिको विरोधमा अड्डीका कारण संवैधानिक समितिले अनुमोदन गर्न नसकेपछि बैठक नै एक सातालाई स्थगित गरिएको छ।

माओवादीभित्रको अन्तर विरोधकै कारण दलहरुबीच पछिल्लो समय बनेका सहमतिहरु धरापमा परेको कांग्रेस नेता विमलेन्द्र निधिले बताए।

उनले भने, "शान्ति प्रक्रिया र संविधान लेखनका लागि तय गरिएका कार्यतालिका प्रभावित हुन पुगेका छन्। हामी समस्या कसरी समाधान गर्ने भनेर शीर्ष नेताहरुको अनौपचारिक बैठकको प्रयत्न गरिरहेका छौं।"

अस्पष्टता

संबैधानिक समितिमा एमालेका तर्फबाट एक सदस्य अग्नी खरेल माओवादीका शीर्ष नेताहरुमा नीतिगत अस्पष्टता रहनुले अहिलेको स्थिति आइलागेको ठान्छन्।

खरेल भन्छन्, "यहाँसम्म आइपुग्दा पनि आफुहरुले लिएको बाटो ठीक छैन कि भन्नेमा माओवादी नेताहरु स्पष्ट हुन नसक्दा यो समस्या आएको हो, उनीहरु स्पष्ट हुन नसकुन्जेल त्यस्तै भइरहनेछ।"

माओवादी चाहिँ अझ पनि आफ्नो दलभित्रको विवाद प्रचण्डको नियन्त्रण भित्र रहेकाले निर्धारित समयभित्रै समाधान हुने ठान्छ।

समाधान

संबैधानिक समितिमा माओवादीका तर्फबाट एक सदस्य खिमलाल देवकोटा भन्छन्, "चुनवाङ बैठकदेखि नै शान्ति र संविधानको विरोध गरेका उनीहरुका कुरा धैर्यतापूर्वक सुनेर व्यवस्थापन गर्ने हो भने समस्या गाह्रो छैन।"

संस्थापन पक्षले अगाडि बढाइरहेको शान्ति र संविधानको कार्यदिशामा तीब्र असन्तुष्टी प्रकट गर्दै आएका उपाध्यक्ष मोहन बैद्य पक्षधर नेताहरुले सहमति भइसकेका विषयहरुमा फरक मत पेश गर्दै सर्वसम्मत हुन दिइरहेका छैनन्।

अझ पनि न्यायपालिका कार्यपालिका र व्यवस्थापिका लगायतमा विवाद समाधान उपसमितिले विभिन्न दलहरुबीच सहमति गर्नुपर्ने विषय थुप्रै छन्।

उपसमितिका सदस्य रामचन्द्र पौडेल आमाको निधन भएर आशोच बारिरहेका छन्, एमाले नेता माधव नेपाल आइतबारै विदेशतिर लागेका छन् भने माओवादी नेता प्रचण्डलाई उनकै पार्टीको केन्द्रीय समिति बैठक र असन्तुष्ट वैद्य पक्षधरहरुको समस्या किनारा लगाउन चुर्लुम्म डुब्नुपर्ने भएकाले विवाद समाधान उपसमितिको बैठक पनि तत्काल हुन संभव छैन।