एकहप्तापछि शिविरबाट लडाकुको विदाइ गरिने

  • 1 जनवरी 2012
nepali maoists तस्वीर कपीराइट dd
Image caption पुनर्वगिकृत लडाकुहरुको एक सातापछि विदाइ शुरु गरिने भएको छ

प्रधानमन्त्री संयोजक रहेको लडाकु व्यवस्थापन विशेष समितिले विभिन्न शिविरमा बस्दै आएका लडाकुलाई शिविरबाट विदा गर्ने कार्यतालिका पारित गरेको छ।

विदाइको काम एकसाता पछि शुरु गरी बाह्र दिनभित्र पुरा गर्ने विशेष समिति सदस्यहरुले बताएका छन्।

स्वेच्छिक अवकासमा जानेहरु आ आफ्ना घर फर्कने, पुनस्थापना रोज्नेलाई त्यतै लगाउने र समायोजनमा जानेलाई सेना अन्तर्गत पुर्‍याउने प्रक्रिया तत्काल शुरु गर्ने निर्णय पनि आइतबारको बैठकबाट गरिएको छ।

झण्डै एक महिना अघि लडाकुको पुनर्वगिकरण सकिए पछि विशेष समिति अन्तर्गतको सचिवालयले शिविरबाट लडाकु विदा गर्ने बाह्र दिने कार्यतालिका तयार पारेको थियो।

आशा

तर प्रक्रिया तत्काल शुरु गर्न माओवादी तयार नभएपछि अडकिएको काम अब सुचारु हुने आशा विपक्षीहरुले राखेका छन्।

विशेष समिति सदस्य तथा एमाले नेता भीम रावल भन्छन्, "हामीले बाह्र दिने कार्ययोजना पनि पारित गरेका छौं त्यसै बमोजिम लडाकुहरु विदा गर्ने काम शुरु गरिनेछ।"

समायोजनमा जानेहरुका लागि सेनासँग कुराकानी गरिने बताइएको छ।

कुराकानी

रावल भन्छन्, "प्रधानमन्त्री मार्फत समायोजनको काम शुरु गर्न सेनासँग हामी पनि कुराकानी गर्छौं।"

सात हजार चानचुन लडाकुले स्वेच्छिक अवकास रोजेका र नौ हजार सात सय जतिले समायोजन रोजेको तथ्यांक पुनर्वर्गिकरणपछि सार्वजनिक गरिएको थियो।

प्रमुख दलहरुबीच ६ हजार ५ सयलाई सुरक्षा निकायमा समायोजन गर्ने सहमति बनिसकेको छ।

आइतबारको बैठकमा प्रधानमन्त्रीले शान्तिप्रक्रियाप्रति पुन प्रतिबद्धता प्रकट गरेको रावलले बताए।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, सहमति कार्यान्वयन हुनेमा विपक्षीहरु आशावादी रहेपनि विश्वस्त भइसकेका देखिन्नन्।