सत्तापक्षलाई दबाब दिन विपक्षीहरुको तयारी

  • 8 जनवरी 2012
विपक्षी दलहरु, दवाव
Image caption संविधानसभाका अधिकांश विपक्षी दलहरु माओवादीलाई दबाब दिने रणनीतिमा छन्

पछिल्ला राजनीतिक सहमति कार्यान्वयन गराउन प्रमुख सत्तारुढ दल एकीकृत माओवादीलाई दबाब दिने विपक्षीहरुले बताएका छन्।

प्रमुख विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले आपसमा छलफल गरेपछि संविधानसभाका अन्य दलसँग छलफल थालेका छन्।

प्रधानमन्त्री संयोजक रहेको लडाकु व्यवस्थापन विशेष समितिको गत साताको निर्णय कार्यान्वयन नभएपछि विपक्षी दलहरु तात्न थालेका हुन्।

उनीहरुले संविधानसभाको म्याद पछिल्लोपटक थप्दा मंसिरमा गरिएको ६ बुँदे र कात्तिकमा गरिएको ७ बुँदे सहमति कार्यान्वयन नगरेकोमा माओवादीको आलोचना तीव्र बनाउँदै लगेका छन् ।

दवाव

आइतबार प्रमुख विपक्षीहरुसँग छलफल गरेका मध्ये एक राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के सीले भने, "आज आज, भोलि भोलि भन्दा भन्दै यिनीहरुले संविधानलाई माछा माछा भ्यागुता बनाउने भए अब सबै मिलेर एक पछि अर्को शर्त तेर्स्याइरहेको माओवादीलाई दबाब दिनुपर्छ भन्ने हाम्रो भनाइ हो।"

माओवादीसँग सहमति खोज्ने विभिन्न बैठकमा सहभागी रहँदै आएका एमाले नेता भीम रावलले भने, "साना दलसँगको छलफल भोली पनि जारी रहनेछ।"

मुख्य विपक्षी कांग्रेसले आइतबारै संसदीय दलको बैठक डाकेर आन्तरिक छलफल गरेको थियो।

आलोचना

त्यसपछि नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संसदमा विशेष समय लिएर माओवादीका पछिल्ला गतिविधिको आलोचना गरेका थिए।

विपक्षीहरुले दवाव बढाउँदै लगेका बेला प्रधानमन्त्री भने आफ्नो पार्टीको आन्तरिक बैठक टुंगिने वित्तिकै अरु दलसँग मिलेरप शान्ति प्रक्रिया अगाडि बढाउने विषयमा लाग्ने उनका सल्लाहकार देवेन्द्र पौडेलले बताए।

पाँच महिना अघि माओवादी नेतृत्वमा सरकार बने देखि नै चुलिँदै गएको माओवादीको आन्तरिक विवाद आपसी सहमतिमा टुंग्याउने प्रयासमा रहेका माओवादी नेताहरु आइतबार दिनभर छलफलमा व्यस्त थिए।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, माओवादी बैठकक़ले लिने रणनीति र विपक्षीहरुको रणनीतिले देशको भावी बाटो प्रभावित हुने देखिन्छ।