माओवादी विवादमा अल्पविराम लाग्ने संकेत

  • 9 जनवरी 2012
मोहन वैद्य
Image caption पार्टीभित्रका सबै विवाद अहिलेनै समाधान हुन नसक्ने वैद्यको भनाई छ

अध्यक्ष प्रचण्डसंग भएका वार्ताहरुपछि आफुहरु सहमतिको निकै नजिक पुगेको माओवादी उपाध्यक्ष मोहन वैद्यले जनाएका छन्।

सिद्धान्त र विचारसंग सम्बन्धित आफ्ना तमाम मतभेदलाई थाती राख्दै पार्टीका कार्यक्रमहरुमा एकता गर्ने प्रयास अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

परिणाम आउने

केन्द्रिय समितिको बैठक समेत रोकेर अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वैद्यबीच केही दिन यता बाक्लै छलफलहरु भएका थिए।

अब त्यसको परिणाम मंगलबारसम्ममा निस्कन सक्ने नेताहरुले बताएका छन्।

दुबै नेताले जारी केन्द्रिय समितिमा पेश गरेका आ आफ्ना प्रस्ताव कायमै राख्दै पूरै पार्टीलाई कार्यक्रमहरुको एकतामा जोडने सहमति बन्न लागेको उपाध्यक्ष वैद्यको भनाई छ।

“कार्यक्रम, कार्ययोजनाका बारे हामी सहमति कायम गरेर जान्छौं। कार्यदिशा आदि विवाद थाँती नै रहनेछन्। सहमतिको दिशामा हामी गएका छौं। यसको फाइनल भोलि मंगलबारसम्म हुन्छ,” वैद्यले भने।

नेता वैद्यका अनुसार फाइनल सहमति मंगलबार बस्ने वरिष्ठ माओवादी पदाधिकारीहरुको बैठकले अनुमोदन गरेपछि केन्द्रिय समितिमा पठाइनेछ।

प्रस्ताव कायमै

तर केन्द्रिय समितिमा हाल दुई नेताले पेश गरेका परस्पर विरोधी प्रस्तावहरुचाहीं कायमै रहनेछन‍्।

“दुई प्रस्तावमध्ये कुनैपनि फिर्ता लिइने छैन। बरु बीचको सहमतिको बाटो खोज्ने प्रयासमा हामी छौं,” वैद्यको भनाई थियो।

त्यस्तो बीचको बाटो भनेको वैद्यकै शब्दमा शान्ति र संविधानलाई जनताको पक्षमा अधिकतम प्रयोग गर्ने हो।

जसका लागि जनपरिचालन अर्थात सडकको समेत प्रयोग गर्ने कुरा प्रस्तावित सहमतिमा राखिने बताइएको छ।

तर अझैपनि शान्ति र संविधानलाई मुख्य जोड दिने प्रचण्डको कार्यदिशा र जनविद्रोहलाई मुख्य जोड दिने वैद्यको आधारभूत भिन्नता बाँकी नै छ।

त्यसैले मंगलबार हुन लागेको भनिएको सहमति अहिलेको स्थितिमा पार्टी फुटाएको अपजस बोक्न कुनै पनि पक्ष तयार नभएकाले पछि अनुकूल समयमा त्यसलाई उठाउने गरी हाललाई विवाद थाती राख्ने प्रयत्न मात्र भएको हुनसक्ने आशंका कतिपय विश्लेषकहरुको छ।