वैद्य पक्षको ‘जनविद्रोह’को अडान यथावतै

  • 12 जनवरी 2012
माओवादी नेताहरु
Image caption माओवादीको घर झगडा तत्कालै टुंगिने संकेत अझै मिलेको छैन

आपसी एकता प्रयासलाई मूर्त रुप दिन शुक्रबार बस्ने भनिएको एकीकृत माओवादी पदाधिकारी बैठकमा असन्तुष्ट मोहन वैद्य पक्षले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा र जनविद्रोहको तयारीको मागलाई चर्काउने संकेत गरेको छ।

असन्तुष्ट उपाध्यक्ष वैद्य र अध्यक्ष प्रचण्ड पक्ष सहमति नजिक पुगेको भन्ने खबरका माझ वैद्य पक्षको त्यस्तो मागले माओवादी भित्रको एकताको प्रयासलाई प्रभावित पार्ने देखिएको छ।

भट्टराई सरकार गठन हुनु अघि माओवादी र तराई केन्द्रित दलहरुको मोर्चाबीच भएको चार बुँदे सहमतिको खारेजी र राष्ट्रिय सहमतिको सरकार निर्माणको माग पनि बैद्य पक्षले छोडेको छैन।

माओवादीको आन्तरिक किचलोको हल निकाल्ने अपेक्षा गरिएको माओवादीको पदाधिकारी बैठकमा असन्तुष्ट वैद्य पक्षले गत बर्षको पालुङटार बैठकको नारालाई ब्युँताउने तयारी गरिरहेको वैद्य पक्षीय नेता सीपी गजुरेलले बीबीसीलाई बताए।

‘रुपान्तरण’

“एकताको विकल्प छैन, रुपान्तरणको विकल्प छैन र जनविद्रोहको विकल्प छैन भन्ने पालुङटारको नारा हो; अब त्यसको पुनर्पुष्टि हुनुपर्छ,” गजुरेलले भने।

पदाधिकारी बैठकमा तयार गरिने भनिएको माओवादीको एकताको प्रस्तावमा शान्ति र संविधानको लागि जनविद्रोहको बाटो लिनु पर्ने माग समेटिनु पर्नेमा बैद्य पक्षको जोड रहेको गजुरेलले बताए।

“यदि शान्ति प्रक्रिया र संविधान निर्माण टुंगोमा पुगेन भने हामी फेरि जनविद्रोहको बाटोबाट समाजलाई रुपान्तरण गर्न सक्छौं।”

उपाध्यक्ष वैद्य र अध्यक्ष प्रचण्डबीच सहकार्य भएर माओवादीको घर झगडा सल्टिन लागेको भन्ने खबरका माझ वैद्यपक्षीय नेताहरुले जनविद्रोहको तयारीलाई दिएको जोडले माओवादी भित्रको विवाद सहजै समाधान नहुने चिन्ताहरुलाई बल मिलेको छ।

‘राजिनामा’

वैद्य पक्षकै अर्का नेता देव गुरुङको भनाइमा चार बुँदे सहमतिको खारेजी र प्रधानमन्त्री भट्टराईको राजीनामाको माग पनि संबोधन हुनु पर्छ।

“राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय पटक पटक भैसकेको छ, राजीनामा बेगर त्यो संभव कसरी हुन्छ।”

बैद्यपक्षीय नेताहरुको त्यस्तो अडानले माओवादी भित्र र बाहिरका नेताहरुलाई झस्काउन सक्छ।

प्रतिपक्षी दलहरुले माओवादीभित्र चर्किएको जनविद्रोहको नाराले आगामी जेठ सम्ममा शान्ति प्रक्रिया र संविधान निर्माणका कामहरु टुंग्याउने अभिभारा पुरा हुन नसक्ने भन्दै माओवादीविरुद्ध आक्रोस पोखिसकेका छन्।