‘विवादास्पद निर्णय सच्याउन माओवादीद्वारा समय माग’

  • 23 जनवरी 2012
माओवादी नेताहरु तस्वीर कपीराइट .
Image caption घरजग्गा बारेका एकलौटी निर्णय फिर्ता लिन माओवादीमाथि प्रतिपक्षीहरुको दबाब बढ्दो छ

एकीकृत माओवादीको जनसत्ता भनिने निकायले सशस्त्र द्वन्द्वकालमा गरेका घरजग्गा सम्वन्धी निर्णयलाई मान्यता दिने भन्ने मन्त्रिपरिषदको हालैको निर्णय सच्याउन माओवादी नेतृत्वले समय मागेको छ।

तीन दलका शीर्षस्थ नेताहरुबीच भएको सोमबारको बैठकमा माओवादी नेतृत्वले त्यस विषयमा आफ्नो दल र सत्ता साझेदार दलहरुसंग छलफल गरेर निर्णय गर्ने आश्वासन दिएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

घरजग्गा सम्वन्धी माओवादीका पुराना निर्णयलाई मन्त्रिपरिषदले समेत अनुमोदन गरेको भन्दै प्रतिपक्षी दलहरुले केही दिन देखि त्यसको चर्को विरोध गरिरहेका छन्।

मन्त्रिपरिषदको त्यस्तो निर्णयको चर्को विरोध गरिरहेका दुई ठूला प्रतिपक्षी दल र माओवादी नेतृत्व विचको संवादहिनता भने तोडिएको छ।

'कानुनी जामा'

तर विवादमा तानिएको मन्त्रिपरिषदको निर्णयले समग्र राजनीतिक प्रक्रियामा पारेको अवरोध भने फुकिसकेको छैन।

आफ्नो निवासमा भएको तीन दलीय वैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, “हामीले मन्त्रिपरिषदको निर्णयको खारेजीको माग गर्‍यौं उहाँहरुले आफ्नो दल र सत्ता साझेदार मधेसी मोर्चासंग कुरा गरेर फेरी बसौं भन्नु भएको छ।”

सो वैठकमा सहभागी नेकपा एमालेका अध्यक्ष झलनाथ खनालका अनुसार जनसत्ता भनिने द्वन्द्वकालीन माओवादी निकायका घरजग्गा सम्वन्धी निर्णय फिर्ता हुनु पर्नेमा दुबै ठुला प्रतिपक्षी दल एक मत थिए।

“पुराना कामलाई कानुनी जामा लगाउने त्यस्तो निर्णय फिर्ता नभएसम्म सहमतिको वातावरण बन्न सक्दैन।”

दबाब

सशस्त्र द्वन्द्वकालीन माओवादी जनसत्ताका घरजग्गा कारोबारबारेका निर्णयलाई मान्यता दिने माओवादी नेतृत्वको सरकारको निर्णयको चर्को विरोध र आलोचना गर्दै प्रतिपक्षी दलहरुले केही दिन देखि संसद देखि ठूला दलको बैठकसम्म अवरुद्ध पार्दै आएका थिए।

सो विवादास्पद निर्णय हाललाई कार्यान्वयन नगर्नु भन्दै सर्वोच्च अदालतले समेत केही दिन अघि अन्तरिम आदेश जारी गरेको थियो।

त्यस्तो विवादास्पद निर्णय फिर्ता लिन माओवादी नेतृत्वको सरकारमाथि चौतर्फी दबाब बढिरहेका बेला आइतबार मात्रै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले प्रधानमन्त्रीले सो निर्णयमाथि छिट्टै पुनर्विचार गर्नसक्ने संकेत बीबीसी नेपाली सेवालाई दिएका थिए।