स्वैच्छिक अवकाश रोजेका लडाकुहरुको बिदाइ प्रकृया शुरु

  • 3 फेब्रुअरी 2012
माओवादी नेताहरु
Image caption लडाकु बिदाइ प्रक्रियाप्रति माओवादीको वैद्य समूह पुरै सन्तुष्ट देखिएन

सेना समायोजन विशेष समितिले गरेको माओवादी लडाकुहरुको पुनर्वगीकरणका क्रममा स्वैच्छिक अवकाश रोजेका पूर्वलडाकुहरुलाई रकम दिंदै बिदाई गर्ने काम शुक्रबारबाट शुरु भएको छ।

यसबाट ठप्प शान्ति प्रक्रिया थोरै भए पनि अघि बढ्ने संकेत मिलेको कतिपयको धारणा छ।

अवकास रोजेका सात हजार बढी लडाकु बिदाइ गर्नको निम्ति सेना समायोजन विशेष समितिको निर्णय अनुसार शुक्रबार सात मुख्य शिविरहरु मध्ये दुईमा लडाकुहरुलाई चेक हस्तान्तरण गरियो।

चेक हस्तान्तरण

नवलपरासीको झ्याल्टुङ डांडा र चितवनको शक्तिखोरमा चेक वितरण शुरु भएको बताइएको छ।

यो प्रक्रिया शुरु भएसंगै स्वैच्छिक अवकास रोजेका ७,००० भन्दा बढी माओवादी लडाकुहरु अब आ,आफ्नो घर जाने माओवादी कमाण्डरहरुले बताएका छन्।

शक्तिखोर पुगेका विशेष समिति सचिवालय संयोजक बालानन्द शर्माले केही साता अघि गरिएको पुनर्वर्गीकरणको आधारमा तह अनुसार माओवादी लडाकुहरुलाई रकम हस्तान्तरण गरिएको बताए।

“उहाँहरुलाई तह अनुसार पाउने रकम र घर खर्च जोडेर चेक दिएर घर फर्काउने प्रक्रिया थालेका छौं,” उनले भने।

शुक्रबार साँझसम्म रकम हस्तान्तरणको काम चितवनको शक्तिखोर र नवलपरासीको झ्यालटुङडांडा स्थित शिविरहरुमा शुरु भएको थियो।

आउँदा दिनमा त्यो काम सबै शिविरहरुमा हुने बताइएको छ।

पाँच लाखदेखि आठ लाख रुपैंयासम्म पाउने भनिएका लडाकुहरुलाई पहिलो किस्तामा उनीहरुले पाउने रकमको आधा रकमको चेक दिइएको छ।

विशेष समिति सचिवालयका अनुसार रकम पाइसकेका लडाकुहरु १० दिनसम्म शिविरमा बस्न पाउनेछन्।

‘पार्टीको विदाई’

त्यसपछि उनीहरुले पाउने भत्ता र रासन स्वत: बन्द हुने छ।

तेस्रो डिभिजनका कमाण्डर धनबहादुर मास्केका अनुसार रकम बुझी सकेका लडाकुहरुलाई सातवटै शिविरहरुमा विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरिनेछ।

रकम बुझेका केही लडाकुहरु घर तर्फ गएका छन् भने अन्यले पार्टीले औपचारिक बिदाइ गरे पछि घर जाने बताएका छन्।