माओवादीले वाइसिएललाई आर्थिक प्याकेज दिने

  • 7 फेब्रुअरी 2012
माओवादी नेतृत्व
Image caption वाइसिएललाई दिनु पर्ने रकम र त्यसको श्रोतबारे माओवादी नेतृत्व मौन छ

एकिकृत नेकपा माओवादीले योंङ्ग कम्युनिष्ट लिग (वाइसिएल) मा गएका पूर्वलडाकूलाई आफैले आर्थिक प्याकेज दिने निर्णय गरेको छ।

सरकारले अस्थाई शिविरका लडाकूलाई दिने सरहकै प्याकेज माग गर्दै सुदूर-पश्चिम क्षेत्रमा वाइसिएल कार्यकर्ता अचानक आन्दोलित भएपछि माओवादी स्थाई समितिको बैठकले उक्त निर्णय लिएको हो।

सचिव सीपी गजुरेलले भने, "राजनीतिक नियुक्तिमा नरहेका वाइसिएलका साथीहरुलाई पार्टीले आर्थिक प्याकेज दिने निर्णय गरेको छ।"

वाइसिएलले आन्दोलनको निशाना आफ्नै पार्टी र नेताहरुलाई बनाएका थिए।

पार्टीको उक्त निर्णयपछि उनीहरुले आन्दोलन फिर्ता लिएका छन्।

वचन

नेतृत्वको निर्देशन अनुसार पार्टी सेना छाडेर वाइसिएलमा गएको आन्दोलनकारीहरुको भनाई छ।

त्यसबेला पार्टीले अहिलेका लडाकूले सरकारबाट पाउने सरहको सुविधा दिने वचन दिएको उनीहरु बताउँछन्।

सचिव गजुरेलले पनि उक्त कुरा अस्वीकार गरेनन्।

उनी भन्छन्, "उसबेला प्रश्न उठेकै हो, परेको बेला पार्टीले सहयोग गर्ने कुरा भएको थियो।"

त्यसरी आर्थिक प्याकेज पाउने वाइसिएल कार्यकर्ताको संख्या तत्काल संकलन गरिने उनले बताए।

प्रश्न

धेरैलाई आशंका छ, आफ्ना कार्यकर्तालाई रकम दिन माओवादीले फेरी चन्दा उठाउने त हैन्?

गजुरेलका अनुसार प्याकेज पार्टीको कोषबाट दिइने छ र आवश्यक परे त्यसको निम्ति पार्टीले अभियान चलाउने छ।

पार्टीको चल-अचल सम्पति र खर्चबारे माओवादीभित्रै चर्को विवाद छ।

अध्यक्ष प्रचण्ड आर्थिक मामिलामा अपारदर्शी रहेको भन्दै उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई पक्षले त्यसबारे निरन्तर पार्टीभित्र सोधीखोजी गर्ने गरेका छन्।

त्यसबारे कुनै निष्कर्षमा नपुगेको माओवादीले करोडौं खर्च हुने ठानिएको नयाँ आर्थिक प्यकेजको जोहो कसरी गर्छ भन्नेमा धेरैको चासो रहने छ।

तर त्यस्तो प्याकेज दिइने वाइसिएल कार्यकर्ताको संख्या, दिनु पर्ने रकम र त्यसको श्रोतबारे माओवादीले स्पष्ट पारेको छैन्।