‘प्रमुख दलहरुको आम्दानीको स्रोत अस्पष्ट’

  • 8 फेब्रुअरी 2012
सुशील कोइराला, प्रचण्ड र झलनाथ खनाल तस्वीर कपीराइट BBC World Service
Image caption साना मात्र होइन, ठूला दलहरुले पनि निर्वाचन आयोगमा आम्दानीको स्रोत खुलाएका छैनन्

एकीकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेको चार वर्षको खर्च विवरणमा ती पार्टीहरुले आर्थिक सहायता एवं चन्दा स्वरुप प्राप्त गरेको आम्दानीको स्रोत नखुलाएको देखिएको छ।

बीबीसीले प्राप्त गरेको जानकारी अनुसार तीन ठूला दलसहित आयोगमा चार वर्षको खर्च विवरण बुझाएका अन्य ३६ वटा दलहरुले पनि कानुनी प्रावधान अनुसार आफ्नो आम्दानीको स्रोत खुलाएका छैनन्।

राजनीतिक दल सम्बन्धी ऐन २०५८ को दफा १२ अनुसार २५ हजार भन्दा बढी आर्थिक सहायता दिने संस्था वा व्यक्तिको नाम पार्टीका खर्च विवरणमा सबै दलले खुलाउनै पर्छ।

निर्वाचन आयोगका सहसचिव मधु रेग्मीका अनुसार २५ हजार रुपैयाँ भन्दा बढी दिने संगठित संस्था वा व्यक्तिको नाम ठेगाना दलहरुले खुलाउनु पर्ने नियम भए पनि त्यसो भएको छैन।

“कुन व्यक्तिले कति पैसा दियो, उसको ठेगाना के हो, पेशा के हो भन्ने उल्लेख नगरी चन्दा वापत यति भनेर एकमुष्ठ रुपमा आएको छ,” उनले भने।

खर्च विवरणहरु

एकीकृत माओवादीले आर्थिक वर्ष २०६४/०६५ देखि आर्थिक वर्ष २०६७/०६८ सम्म ४२ करोड ६८ लाख ३० हजार रुपैंयाँ आम्दानी र ४१ करोड २६ लाख ७० हजार रुपैंयाँ खर्च गरेको विवरण आयोगमा बुझाएको छ।

विवरणमा पार्टीलाइ आर्थिक सहायता वापत विभिन्न स्रोतहरुबाट पैसा प्राप्त भएको उल्लेख त छ, तर मंगलबारमात्र आफ्नो संगठन योङ् कम्युनिष्ट् लिग्, वाईसिएललाई पार्टीबाटै खर्च उपलब्ध गराउने निर्णय गरेको संविधानसभाको सबै भन्दा ठूलो दल माओवादीले आफ्नो पार्टीलाई कहाँबाट कति पैसा आयो र त्यो कुन काममा कसरी खर्च भयो भन्ने स्पष्ट खुलाएको छैन।

माओवादीको अर्थ विभाग सम्हाल्दै आएका नेता अमिक शेरचनका अनुसार २२८ सभासद र आम कार्यकर्ताबाट आउने लेवी नै पार्टीको मुख्य र आधिकारिक स्रोत भएको बताए।

“कुनै कुनै कार्यक्रममा कहीं न कहीं हाम्रा राज्य समितिहरुले चन्दा आदि लिएको, सञ्चालन र कार्यान्वयन गरेका छन्, तर त्यो केन्द्रसँग सम्बन्धित हुँदैन,” शेरचनले भने।

दोस्रो ठूलो दल काँग्रेसले आर्थिक वर्ष २०६४/०६५ देखि आर्थिक वर्ष २०६६/०६७ सम्म ६ करोड ८६ लाख ५० हजार आम्दानी र २ करोड ४५ लाख ५० हजार खर्च गरेको विवरण आयोगमा बुझाएको छ।

आर्थिक वर्ष ०६७/०६८ को खर्च विवरण फागुन भित्र वुझाउने बताएको उक्त पार्टीले आर्थिक सहायत वापत रकम प्राप्त भएको उल्लेख गरेपनि पार्टीलाइ कसले कति रकम दिए भन्ने खुलाएको छैन ।

पार्टीको हरहिसाब सम्हाल्दै आएका काँग्रेस कार्यालयका मुख्य सचिव वसन्तकुमार गौतमका अनुसार भवन निर्माणको लागि काँग्रेसले आर्थिक सहायता लिएको छ।

“हामीले लिएको आर्थिक सहायताको विवरण पछि बुझाउँछौं।”

तेस्रो ठूलो दल नेकपा एमालेले आर्थिक वर्ष २०६४/०६५ देखि आर्थिक वर्ष २०६७/०६८ सम्म २२ करोड ५५ लाख २० हजार आम्दानी र १६ करोड ४४ लाख ९० हजार खर्च गरेको विवरण आयोगमा बुझाएको छ।

स्रोत

सहयोग स्वरुप पार्टीलाइ आम्दानी भएको उल्लेख गरे पनि एमालेले स्रोत उल्लेख गरेको छैन।

पार्टीको अर्थ विभाग प्रमुख युवराज ज्ञवालीले धेरैजसो रकम लेवीबाट चलेको र पार्टीलाई सहयोग गर्नेहरुमा २५ हजार रुपैयाँ भन्दा बढी दिनेको संख्या ठूलो भएको बताए।

“त्यसैले २५ हजार भन्दा माथि कतिले दिएका थिए भन्ने खुलाएका छैनौं, एकमुष्ठ रकम मात्र बुझाएका हौ,” उनले भने।

विधि पुरा नगरी खर्च विवरण पेश गर्ने दलहरुदाई कारवाही गर्ने कानुनी अधिकार निर्वाचन आयोगसँग सुरक्षित छ।

तर त्यसबारे आयोगले अहिले नै सार्वजनिक रुपमा कुनै टिप्पणी गर्न चाहेन।