माओवादी लडाकूलाई बढीमा मेजर दर्जा: सेना

  • 18 फेब्रुअरी 2012
प्रधानसेनापति छत्रमान सिंह गुरुङ तस्वीर कपीराइट Nepal Army Website
Image caption समायोजनका लागि प्रधानसेनापतिले लचिलो प्रस्ताव पेश गरेको माओवादीको बुझाई थियो

नेपाली सेनाले समायोजन हुने माओवादी लडाकुलाई बढीमा सेनानी अर्थात मेजर तहसम्म मात्र दिन सकिने अडान सार्वजनिक गरेको छ।

प्रधानसेनापति छत्रमान सिंह गुरुङ्ले समायोजनबारे लचिलो प्रस्ताव सरकारलाई दिएको खबरहरुका माझ विज्ञाप्ती मार्फत सेनाले उक्त कुरा पहिलो पटक जनाएको हो।

समायोजनका विधि र आधार धेरै हदसम्म प्रष्ट पारेको तीन ठूला पार्टी र तराई केन्द्रित दलहरुको मोर्चाबीच गत कार्तिक १५ गते भएको सात बुँदे सहमतिले उक्त कुरा खुलाएको थिएन।

आधार

सैनिक प्रवक्ता रहेका सहायक रथी रमिन्द्र क्षेत्रीको भनाई छ, "२३ वर्ष सेवा अवधि पुरा गरेकाहरु अस्ति भर्खर बल्ल-बल्ल मेजरबाट बढुवा भए, त्यसैले सेनाको स्थापित मापदण्डका आधारमा मेजरभन्दा माथिको दर्जा दिन सकिने गुन्जायस नै छैन।"

माओवादी सशस्त्र विद्रोह शुरु भएको २०५२ साललाई आधार मान्दा पनि लडाकुको अवधि १६ वर्षमात्र पुग्ने उनको तर्क छ।

त्यो तर्क गर्नुको आधार उनले सात बुँदे सहमतिलाई बनाएका छन्।

समायोजनमा सामेल हुनेहरुको दर्जा निर्धारण सम्बन्धित सुरक्षा निकायको मापदण्ड अनुसार गर्ने उल्लेख गरिएको सहमतिमा 'सुरक्षा निकायको प्रचलित व्यवस्था र हालका अधिकृत र अन्य दर्जाका व्यक्तिहरुको वृत्ति विकासमा नकारात्मक असर नपर्ने गरी दर्जा निर्धारण गरिने' भनिएको छ।

राजनीतिक सहमति भए लडाकुलाई सहायक रथीको पद समेत दिन प्रधानसेनापति गुरुङ तयार रहेको भन्ने खबरहरुलाई सेनाले कपोलकल्पित हल्लाको संज्ञा दिएको छ।

माओवादी लडाकुको समायोजन समुहगत हुन नसक्ने सेनाको भनाई छ।

व्यक्तिगत प्रवेश

व्यक्तिगत आधारमा स्थापित मापदण्ड पुरा गर्नु पर्ने बताउँदै सैनिक प्रवक्ता क्षत्री भन्छन्, "सामुहिक वा युनिटका रुपमा समायोजन हुने होइन व्यक्तिगत हैसियतमै हो।"

माओवादी अध्यक्ष प्रचण्डले समेत हस्ताक्षर गरेको सात बुँदे सहमतिमा टेकेर सेनाले उक्त कुरा दोहर्‍याएको हो।

जसमा लेखिएको छ, "समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने छ।"

सेनाका अनुसार, पुस १७ गतेको सेना समायोजन विशेष समितिको बैठकको निर्णय अनुसार सरकारले माघ २६ गते रक्षा मन्त्रालय मार्फत पठाएको पत्रका आधारमा समायोजनबारे उसले प्रारम्भिक योजना बनाएको छ।

त्यसबारे प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनमा उनलाई सेनापति गुरुङले माघ २९ गते जानकारी गराएको सैनिक मुख्यालयले जनाएको छ।

त्यस लगत्तैदेखि माओवादी नेतृत्वले सेना लचिलो बनेको भन्दै सार्वजनिक रुपमै प्रसन्नता गर्दै आएको थियो।

तर शनिवार विदाको दिन जारी सेनाको विज्ञप्ती माओवादीको त्यो खुशीमा चोट पुर्‍याउने खालको छ।