भ्रष्टाचारको आरोपमा मन्त्री गुप्ता जेल चलान

  • 21 फेब्रुअरी 2012
जयप्रकाश प्रसाद गुप्ता तस्वीर कपीराइट bbc
Image caption भ्रष्टाचारको ठहर भएपछि प्रहरीले गुप्तालाई डिल्लीबजार जेल लगेको छ

सर्वोच्च अदालतले सञ्चार मन्त्री जयप्रकाश प्रसाद गुप्ताले सार्वजनिक पदमा छँदा ८४ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको र उक्त रकमको कुनै स्रोत खुलाउन नसकेको ठहर गर्दै त्यति नै रकम जरीवाना र डेढ वर्ष कैद हुने फैसाला मंगलबार सुनाएको छ।

फैसलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै गुप्ताले मधेशमा आन्दोलन गरेकाले आफुलाई दण्डित गरिएको प्रतिक्रिया दिए।

सञ्चारकर्मी र आफ्ना समर्थकहरुले खचाखच भरिएको इजलासमा न्यायाधीशले आफु विरुद्ध फैसला सुनाउनासाथ अदालत सामु आत्मसमर्पण गर्दै गुप्ताले खल्तीबाट निवेदन झिकेर इजलास सहायकलाई दिएका थिए।

निवेदनमा उनले आफु अदालतको फैसला मान्न तयार रहेको र कानुन अनुसार छुट पाउनु पर्ने जरीवाना र कैद छुट दिन आग्रह गरेका थिए।

कैद र सजाय

सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले सार्वजनिक पदमा हुँदा पदीय दुरुपयोग गरी गुप्ताले ८४ लाख रुपैयाँ भ्रष्टाचार गरेकोले त्यति नै विगो गुप्ताबाट भराउन र उनलाई डेढ वर्ष कैद हुने फैसला सुनाएका थिए।

फैसला सुनेपछि गुप्ताको अनुहार एकाएक मलिन भएको थियो।

गुप्ता मंगलबारै जेल चलान भएका छन्। जेल जानु अघि उनले मधेशमा आन्दोलन गरेका कारण आफुलाई दण्डित गरिएको प्रतिक्रिया सञ्चारकर्मीलाई दिए।

“यो मलाई दण्डित गर्ने भन्दा पनि मैले अघि बढाएको आन्दोलनलाई दण्डित गर्ने अभिप्राय हो,” फैसलापछि गुप्ताले सञ्चारकर्मीहरुसँग भने।

अख्तियार अभियोग

पदीय दुरुपयोग गरी दुई करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ सालमा गुप्ता विरुद्व विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतले २०६४ सालमा गुप्तालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशले विशेष अदालतले २०६४ सालमा गुप्ताको भ्रष्टाचार मुद्दामा गरेको फैसलामा गम्भीर त्रुटि भएको ठहर गरेका छन्।

उक्त फैसला उल्टाउँदै सर्वोच्चले गुप्तालाई कैद र जरीवाना तोकेको हो। फैसला बमोजिम गुप्तालाई मंगलबार सदरखोर डिल्लीबजार जेल चलान गरिएको छ। जेल जानु अघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै गुप्ताले फैसाललाई मधेशमा संकट शुरु भएको संकेतका रुपमा वुझ्न सकिने बताए।

“मेरो पार्टीका साथीहरुलाई म के भन्न चाहन्छु भने यसलाई अब मधेशले भावी दिनमा भोग्ने संकटका रुपमा वुझ्नु पर्छ,” गुप्ताले भने।

कारवाही

विशेष अदालतका न्यायाधीशले गुप्ताका सम्बन्धमा फैसला गर्दा गम्भीर लापरवाही र त्रुटि गरेकाले विशेषका तत्कालिन न्यायाधीशहरुमाथि समेत कारवाही हुनुपर्ने फैसला सर्वोच्चले गरेको छ।

विशेष अदालतका तत्कालिन न्यायाधीशहरु भुपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर राणामाथि कारवाही अघि बढाउन सर्वोच्चले भनेको छ। मंगलबारको फैसला न्यायपरिषदमा पठाई ती न्यायाधीशहरुमाथि कारवाही गर्न फैसलामा भनिएको छ। न्यायपरिषदले न्यायाधीशहरुमाथि कारवाही गर्ने कानुनी अधिकार राख्छ।